• १४ मंसिर २०८१, शुक्रबार

तनहुँमा डेंगुबाट बच्न लामखुट्टेको लार्भा खोज र नष्ट अभियान

blog

जिल्लामा रोग फैलिँदै गएपछि रोकथाम, नियन्त्रण र न्यूनीकरणका लागि अभियान सञ्चालन । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, साउन २० गते । 
तनहुँमा डेंगु ज्वरोको प्रकोप फैलिएको र बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ । डेढ महिनाको अवधिमा जिल्लामा सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रमा डेंगुका ४४ बिरामी पहिचान भएका हुन् । एक महिना अघि एकजनाको मृत्यु समेत भएको छ । जिल्लामा रोग फैलिँदै गएपछि रोकथाम, नियन्त्रण र न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएका छ । लामखुट्टेले फुल पार्ने ठाउँहरु ‘‘खोजौं र नष्ट गरौँ’’ भन्ने नारासहित जिल्लाको सबै पालिकामा अभियान सञ्चालन गरिएको छ ।

व्यास नगरपालिकामा सञ्चालन गरिएको अभियानको नगर प्रमुख वैकुण्ठ न्यौपानेले शुक्रबार शुभारम्भ गर्नुभयो । सो अवसरमा नगर प्रमुख न्यौपानेले तत्काल थाहा नहुने र धेरै अङ्ग प्रत्याङ्गनमा असर गरेपछि मात्रै थाहा हुने भएकोले सचेतना फैलाउन अभियान सञ्चालन गरिएको बताउनुभयो ।

सचेतना कार्यक्रम प्रभावकारी बनाउन विद्यालयमार्फत गर्दा प्रभावकारी हुने भएकाले विद्यालयमा समेत अभियान सञ्चालन गरिने बताउनुभयो । नगर प्रमुख न्यौपानेले भन्नुभयो, ‘‘लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको सङ्क्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै विद्यालयमा अभियान कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छौँ ।’’ कार्य उपप्रमुख इन्दिरा दरैको नेतृत्व बजार क्षेत्रमा पानी जम्ने स्थानको नष्ट गर्ने कार्य सुरु गरिएको उहाँले जानकारी दिनुभयो । व्यास नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न शुक्रबारदेखि घरदैलो अभियान सुरु गरिएको जानकारी दिनुभयो ।

नगरपालिकाले लामखुट्टेको वासस्थान तथा लार्भा खोजी गरी नष्ट गर्ने अभियानमा सहभागी हुन सबै टोलवासीमा अनुरोध गरेको उहाँले जानकारी दिनुभयो । अभियान सुरुवात कार्यक्रममा नगरप्रमुख, उपप्रमुख वडाध्यक्ष, नेपाल प्रहरी, नगर प्रहरीलगायत जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र स्थानीयवासी अभियानमा सहभागी थिए । पहिलो दिन नगरपालिकाको सहरी क्षेत्र वडा नम्बर २, ४ र ४ मा अभियान सञ्चालन गरिएको छ ।

डेंगुको सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिकामा कार्यरत इन्जिनियर कमलप्रसाद शर्माको निधन भएका थियो । व्यास नगरपालिका–१० निवासी शर्माको असार १६ गते मृत्यु भएको थियो । केही दिनदेखि डेंगु सङ्क्रमण भएपछि दमौलीमा उपचाररत ३५ वर्षीया शर्मालाई थप उपचारका लागि  पोखरा लैजाँदै गर्दा बाटोमा निधन भएको थियो । वर्षायाम सुरु भएसँगै लामखुट्टे फैलिने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन स्वास्थ्य कार्यालय तनहुँले आग्रह गरेको छ । बिहान, दिउँसो राति जुनसुकै बेला झुल टाँगेर सुत्ने, पुरा बाहुला भएका र पुरा शरीर ढाक्ने कपडा लगाउने, लामखुट्टेको वासस्थान मास्न पानी जम्न नदिने, घरवरपर सफा राख्न, घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली लगाउने, लामखुट्टेको वृद्धि हुने स्थानको नष्ट गर्ने जस्ता सजकता अपनाउनु पर्ने स्वास्थ्य प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार तनहुँमा डेढ महिनाको अवधिमा ४४ जनालाई डेंगुको सङ्क्रमण भएको छ भने एक जनाको मृत्यु भएको छ । पोथी लामखुट्टेले टोकेर सङ्क्रमण हुने डेंगुको बिरामी थपिन थालेपछि पानी जम्न सक्ने भाँडा जस्तै, गमला, फूलदानी, खाली बट्टा, खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न नदिन आग्रह गरिएको छ ।

स्वास्थ्य प्रमुख अधिकारीले लामखुट्टेबाट बच्न तथा ज्वरो आएमा, बान्ता भएमा वा डेंगुका लक्षण देखिएमा स्वास्थ्य संस्थामा आउन आग्रह गर्नुहुन्छ । पछिल्लो केही साता यता तनहुँमा डेंगीको सङ्क्रमण दर उच्च देखिएसँगै ‘खोजौँ र नष्ट गरौँ’ अभियान सञ्चालन गर्न स्वास्थ्य कार्यालय तनहुँले अनुरोध गरेको छ ।

डेंगु रोगको रोकथाम, नियन्त्रण र न्यूनीकरण लागि लामखुट्टेले फुल पार्ने ठाउँहरू ‘‘खोजौँ र नष्ट गरौँ’’ भन्ने राष्ट्रिय अभियानअन्तर्गत तनहुँमा पनि सञ्चालन गर्न सबै सरकारी कार्यालय, स्थानीय तहका कार्यालय, सरकारी संस्थानहरु, गैर सरकारी सस्ताहरूलाई अभियान सञ्चालन गर्न पत्राचार गरिएको स्वास्थ्य प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

प्रत्येक शुक्रबार बिहान १० बजे १० मिनेट समय छुट्टाई यस अभियानमा कार्यान्वयनका लागि स्थानीय जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मीहरू महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका, शिक्षक, पत्रकार, सङ्घसस्थाहरु तथा सबै सरोकारवाला निकायलाई स्थानीय तहमार्फत परिचालन गरी आफ्नो वडाको हरेक घरधुरीमा अभियान सञ्चालन गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

‘‘सबै जागौँ सबै लागौँ, वरिपरि जमेको पानी हटाई डेंगु भगाऔँ भन्ने अर्को नाराका साथ डेंगु ज्वरो गराउने वयस्क लामखुट्टे, लार्भा र अण्डालाई नष्ट गर्ने अभियान सफल पार्न कार्यालयले जनाएको छ ।

दमौली अस्पतालमा प्रमुख डा. परिवर्तन बरालले हप्तामा एकदेखि दुई जना डेंगुका बिरामी पहिचान हुने गरेको जानकारी दिनुभयो । एक्कासि ज्वरो आउने, टाउको मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने वा वान्ता हुने, आफ्नो दैनिकी, खानपान वा अन्य काम कुरामा रुचि नलाग्ने जस्ता लक्षण डेंगु रोगीको हुने डा.बरालले जानकारी दिनुभयो ।

यसका साथै बान्तामा रगत देखा पर्ने, धेरै पेट दुख्ने, नाक र गिजाबाट रगत आउने, रक्तस्राव हुने, बेहोस हुने जस्ता लक्ष्यणहरु देखा पर्ने उहाँले जानकारी दिनुभयो । अभियानअन्तर्गत बिहान र साँझपख यो रोगको लामखुट्टे बढी सक्रिय हुने भएकाले सकेसम्म घर बाहिर, खेतबारी हाँस, कुखुरा, बङ्गुर, सुँगुर फार्ममा ननिस्कने, हाँस, कुखुरा र बङ्गुरको वासस्थान सावधान पूर्वक दैनिक सरसफाइ गर्ने कार्य सञ्चालन गर्ने भइरहेको छ ।