घोडाघोडी समाचारदाता
घोडाघोडी (कैलाली), साउन २० गते । विश्व सिमसार क्षेत्र, जैविक विविधताले महत्वपूर्ण कैलालीको घोडाघोडी ताल मनमोहक बनाइँदै छ। घोडाघोडीमा हालै मात्र बाँध पुनर्निर्माण तथा प्रवेश पार्क निर्माण कार्यले पूर्णता पाएसँगै ताल क्षेत्र आकर्षण देखिनुका साथै स्वदेशी पर्यटकको चहलपहल बढेको छ।
पर्यटन विभाग र घोडाघोडी नगरपालिकाको साझेदारी सहयोगमा प्रवेश पार्क तथा आउटलेट बाँध निर्माण भएको हो। स्थानीय पदमप्रसाद ढकालका अनुसार जीर्ण भएको पुरानो बाँधका कारण तालको पानी ठाउँ ठाउँबाट बगेर जाने अवस्था रहेको र पुनर्निर्माणले ताल फुट्ने सम्भावना टर्नुका साथै पार्क निर्माणले तालको आकर्षण बढाएको छ।
तालको मुख्य प्रवेशद्वार अगाडि आकर्षण दुई वटा घोडाको प्रतिमा बनाइएको छ। पानीको फलामको रडबाट निर्माण गरिएको पुल र फाउन्डेसन निर्माणसँगै रङरोगनले बाहिरी भाग आकर्षण देखिएको छ। प्रवेश क्षेत्र आकर्षण देखिएपछि टिकटक, भिडियो, फोटो खिच्नेको समेत भिड हुने गरेको स्थानीय सुन्तली क्षेत्रीले बताउनुभयो।
बाँध पुनर्निर्माण तथा प्रवेश पार्क निर्माणका लागि स्टिमेट रकम दुई करोड ९८ लाख १९ हजार २४० रुपियाँ भए पनि टेन्डर प्रक्रियाबाट देव सिंह/अञ्जु जेबी निर्माण कम्पनीले एक करोड ९२ लाख ८४ हजार ९८८ रुपियाँमा ठेक्का पाएको थियो।
घोडाघोडी नगरपालिकाका प्रमुख खडकबहादुर रावतले जीर्ण बाँधका कारण बर्सातमा ताल फुट्ने डर र गर्मीमा पानी ठाउँ ठाउँबाट बाहिर जाने समस्या रहेको तर बाँध पुनर्निर्माणले सो समस्या समाधान भएको बताउनुभयो। नगरपालिकाका योजना शाखाका संयोजक नवीन मल्लले जानकारी दिनुभयो।
नगरपालिका योजना शाखाका संयोजक नवीन मल्लका अनुसार नगरपालिकाको ७० लाख रुपियाँ सहयोग र बाँकी रकम पर्यटन विभागको बजेटमा पार्क तथा बाँध निर्माण गर्ने योजना थियो। पर्यटन विभागले आर्थिक वर्ष २०७९/८० मा रकम नपठाएपछि नगरपालिकाले थप बजेट छुट्याएर योजना पूरा गरेको हो।