वीरगन्ज, साउन १९ गते। नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले अनुशासनको कमी नेपाली कांग्रेसको कमजोरी भएको औंल्याउनुभएको छ। नेपाली कांग्रेस पर्सा क्षेत्र १ (ख) प्रदेश सभा क्षेत्रीय कार्यसमितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, ‘‘कुनै कुराको चित्त नबुझ्न सक्छ, त्यो भन्न पाइन्छ। तर, त्यो भन्ने ठाउँ, राख्ने ठाउँ र जाने ठाउँ हुन्छ। सामाजिक सञ्जालमा प्रचार गर्ने होइन।’’
कांग्रेस पार्टीभित्रकै नेताहरु एकअर्कालाई गाली गरिरहेको र निर्वाचनमा भोट दिइनरहेको अवस्था रहेको बताउनुभयो। उहाँले आन्तरिक रुपमा बहस गर्नु आवश्यक भएको तर निष्कर्षमा नपुगेसम्म बहस गर्नुपर्नेमा जोड दिनुभयो।
‘‘बहस गरेर निष्कर्ष निस्केपछि त्यो सबैले ग्रहण गर्नुपर्छ। त्यसपछि मात्र एकरुपता आउँछ, जनतामा एउटै सन्देश जान्छ। सामाजिक सञ्जाल उपयोग गरेर एकअर्कामा गालीगलौज गर्नु भनेको कांग्रेसमा सबै खराब रहेछन् भन्ने सन्देश जानु हो’’, महतले भन्नुभयो, ‘‘खराब सन्देश प्रवाह भयो भने कांग्रेसको जनमत बढ्दैन।’
महतले नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गरेर भित्र एउटा कुरा गर्ने र बाहिर अर्कै रुपमा प्रस्तुत हुने सम्भावना टरेको बताउनु भएको छ। हामी धेरै कर्मकाण्डी भएका छौं, सिधैं विषयवस्तुमा प्रवेश गर्नुपर्छ। बुँदागत रुपमा छलफल गर्ने, निष्कर्ष निकाल्ने, त्यो निष्कर्षलाई जनताको बीचमा लिएर जानुपर्छ।
नीति, सिद्धान्त र इतिहास बोकेको पार्टी नेपाली कांग्रेस मात्र भएको स्पष्ट पार्दै नेता महतले भन्नुभयो, ‘‘काम गर्ने पार्टी भनेकै नेपाली कांग्रेस हो, तर हाम्रा नेता खराब भनेर हिँड्ने हाम्रै साथीहरुलाई रोग लागेको छ। यसबाट हामी मुक्त हुनुपर्छ।’’
‘नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनुभए पनि सरकारमा कांग्रेसका मन्त्रीले राम्रो काम गरेको दाबी गर्नुभयो। ‘‘संख्यामा हाम्रा मन्त्रीहरु धेरै हुनुहुन्छ। कांग्रेसका मन्त्रीले धेरै राम्रो काम गरिराख्नु भएको छ,’’ डा. महतले भन्नुभयो।