• २० असोज २०८१, आइतबार

पार्वती मेडिकोलाई दुई लाख जरिवाना

blog

मेडिकल अनुगमनमा रहेका प्रशासनका प्रतिनिधि । तस्बिर : प्रेम अधिकारी

कोकिला ढकाल

इलाम, साउन १९ गते । बिक्री गर्न र प्रयोग गर्न नपाइने औषधि बिक्री तथा प्रयोग गरेको पाइएपछि इलामको फिक्कल बजारमा सञ्चालनमा रहेको पार्वती मेडिकोलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपियाँ जरिवाना गरेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइराला नेतृत्वको अनुगमन टोलीले शुक्रबार सो मेडिकोलाई जरिवाना गरेको हो । उक्त मेडिकोले बिक्री र प्रयोग गर्न नमिल्ने अर्थात ‘वन्ली फर हस्पिटल सप्लाई’ लेखिएको बेटाडिन राखेर प्रयोग गरेको पाइएको सहायक प्रजिअ कोइरालाले बताउनु भयो । 

उहाँका अनुसार उक्त मेडिकोमा सो बेटाडिन साढेचार बोतल फेलापरेको थियो । अनुगमनका क्रममा सुर्योदय नगरपालिका –१० मा सञ्चालनमा रहेका अन्य मेडिकल तथा फार्मेसीलाई पनि विभिन्न सुझाव दिइएको कोइरालाले बताउनुभयो । 

केही दिन अघिमात्र प्रशासनले इलाम सदरमुकाममा रहेका दुर्गा मेडिकल र माइपोखरी डेन्टललाई पनि दुई–दुई लाख रुपियाँ जरिवाना गरेको थियो । सो मेडिकल र डेन्टलमा पनि ‘वन्ली फर हस्पिटल सप्लाई’ लेखिएको र बजार मुल्य नलेखिएको औषधि फेला परेको थियो ।