रमेश विश्वकर्मा
गुल्मी, साउन १९ गते । गुल्मीमा आर्थिक वर्ष २०७९/०८० मा एक अर्बभन्दा बढी राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीका अनुसार यस जिल्लामा एक अर्ब एक करोड १५ लाख १० हजार ७५० रुपियाँ राजस्व सङ्कलन भएको हो ।
यस जिल्लाबाट प्रदेश सरकारमा जाने राजस्वमा दुई करोड बढी घटेको छ । सङ्घ सरकारमा जाने राजस्व नौं करोडभन्दा बढी वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा कुल ९४ करोड २३ लाख ८५ हजार ३९५ रुपियाँ राजस्व सङ्कलन भएको थियो ।
आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश सरकारमा जाने राजस्व दश करोड ९६ लाख ३४ हजार ११६ रुपियाँ सङ्कलन भएकोमा दुई करोडभन्दा बढी घटेर आठ करोड ६६ लाख ३३ हजार ९१९ रुपियाँ राजस्व सङ्कलन भएको छ । संघतर्फ ८३ करोड २७ लाख ५१ हजार २७८ राजस्व सङ्कलन भएकोमा झण्डै १० करोड बढी वृद्धि भई कुल ९२ करोड ४८ लाख ७६ हजार ८३३ रुपियाँ राजस्व सङ्कलन भएको कोष नियन्त्रक यामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । पालिकाहरुमा काम हुन नसकी फिर्ता भएको रकम कार्यालयको तथ्याङ्कमा देखिँदा प्रदेशमा घट्नु र संघमा राजस्व बढेको छ ।
घरेलु तथा साना उद्योग कार्यालयबाट ३० लाख ७९ हजार ७५ रुपियाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षको तुलनामा यस कार्यालयको राजस्व सङ्कलनमा झण्डै १० लाख कमी आएको छ । पाँच लाखसम्म स्थानीय सरकारमै व्यवसाय दर्ता हुन थालेकोले राजस्व घटेको उहाँले बताउनुभयो।
त्यस्तै, करदाता सेवा कार्यालयमार्फत् ३६ करोड ७३ लाख ११ हजार ४४ रुपियाँ राजस्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा तीन करोड बढीले राजस्व वृद्धि भएको कार्यालय प्रमुख जमुना गिरीले बताउनुभयो । करदाताले विगतमा फरक देखाएको कारोबार गत वर्ष १.५ प्रतिशत कर तिरेमा सच्चाउन पाउने अवसर सरकारले दिएकोले ६-७ सय जनाले उक्त कर तिरेर २ करोड ३५ लाख वृद्धि भएको उहाँले बताउनुभयो ।
व्यक्तिहरु धमाधम कम्पनी दर्ता र पानमा जान थालेपछि राजस्व वृद्धिमा टेवा पुगेको छ । व्यक्तिगत फर्मको आयकरबाट नाै करोड ८० लाख ९५ हजार ७१३ रुपियाँ राजस्व सङ्कलन भएको छ । यस जिल्लामा सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने कार्यालय जिल्ला प्रशासन कार्यालय छ । जहाँ राहदानी सहित कुल सात करोड ३८ लाख १८ हजार ७०० रुपियाँ राजस्व सङ्कलन गरेको छ ।