गजेन्द्र गुरुङ
खजुरा, साउन १९ गते । लैङ्गिक संवेदनशीलता कथा लेखन र भाषाका विषयमा नेपालगन्जमा दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ । बिहीवारदेखि सञ्चालनमा आएको सो कार्यशाला आज सम्पन्न हुनेछ । अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायका सवाललाई सञ्चारमाध्यममा कसरी उठान गर्ने भन्ने विषयमा क्षमता अभिवृद्धि गर्न कार्यशाला सञ्चालन गरिएको हो ।
युएसएआइडी द एशिया फाउन्डेशनको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्वारा सञ्चालित ‘नागरिक समाज र मिडिया’ परियोजना अन्तर्गत कार्यशाला सुरु गरिएको अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजीत तिवारीले बताउनुभयो ।
कार्यशालाको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सांसद सुशीला नेपाली बादीले समाजमा अहिले पनि विभेद कायम रहेको उल्लेख गर्दै अल्पसङ्ख्यक समुदायले आफ्ना सवाललाई उठाउन तालिम अर्थपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले अझै पनि कुनै समुदाय यस्तो प्रकारको तालिमबाट वञ्चित भएको भए त्यसलाई पनि अवसर दिनुपर्ने उल्लेख गर्दै समाजलाई सभ्य बनाउन सबैको साझा प्रयत्न हुनुपर्ने बताउनुभयो ।
उहाँले अल्पसङ्ख्यक समुदायलाई अझै पनि उपेक्षा गरिएकाले उनीहरुको पक्षमा पैरवी गर्नुपर्नेमा जोड दिदै यो समुदायकै पत्रकारिता क्षेत्रमा सहभागिताले ठूलो परिवर्तन देखिने विश्वास व्यक्त गर्नुभयो । सांसद नेपालीले भन्नुभयो, ‘जसको सवाल उसैको नेतृत्व हुनुपर्छ, अनि मात्र त्यसले अर्थपूर्ण सहभागिता हुन्छ ।’
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाइँले सीमान्तकृत तथा अल्पसङ्ख्यक समुदायका पत्रकारको सहभागिता बढाउन सरोकारवाला निकायको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिदै ती समुदायका युवकयुवतीको क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभयो ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजीत तिवारीले पत्रकारिताको आयाम फराकिलो भएकाले त्यसमा काम गर्न तालिम प्रभावकारी हुने बताउनुभयो ।
तालिममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, लैङ्गिक संवेदनशीलता, रिपोर्टिङमा सफलताका कथा, भाषालगायतका विषयमा रीमा बिसी र पत्रकार चौलागाइँले सहजीकरण गर्नुहुने संस्थाका प्रोग्राम म्यानेजर रवीन्द्रकुमार ज्ञवालीले जानकारी दिनुभयो । संस्थाले अवधी र थारुभाषी १५ जना पत्रकारलाई आठ महिने फेलोसिप कार्यक्रम सञ्चालन गरेको ज्ञवालीले बताउनुभयो ।