भुवन कार्की
रुपन्देही, साउन १९ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिका–९, दक्षिणटोला निवासी ४० वर्षीय अम्बिका भुसाललाई साउन १ गते घरभित्र पसेर सर्पले टोक्यो। त्यसको एक हप्तापछि उहाँकी छोरी १४ वर्षीय पूजा भुसाललाई पनि सर्पले टोक्यो। उहाँलाई तत्कालै अस्पताल पु-याएकाले ज्यान जोगियो।
रुपन्देहीको तिलोत्तमामा जस्तै तराईका जिल्लामा सर्पको टोकाइ (सर्पदंश) का घटना धेरै छन्। लुम्बिनी प्रदेशका १२ जिल्लामा गत आर्थिक वर्षको साउन महिनादेखि जेठ मसान्तसम्म ३१७ जनालाई सर्पले टोकेकोमा २५ जनाको मृत्यु भएको छ। लुम्बिनी प्रदेशका रुपन्देही, नवलपरासी, कपिलवस्तु, बर्दिया र बाँके जिल्लामा सर्पको टोकाइ उच्च छ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्राविधिक खिमलाल पाण्डेका अनुसार गत आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म सर्पको टोकाइबाट २५ जनाको मृत्यु भएको हो। लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै रुपन्देही जिल्लामा सर्पको टोकाइबाट मृत्यु भएको छ। रुपन्देहीमा ११३ जनालाई सर्पको टोकेकोमा ११ जनाको मृत्यु भएको छ।
यसै गरी कपिलवस्तुमा १५ जनालाई टोकेकोमा तीन जनाको मृत्यु भएको जनाइएको छ। दाङमा ४२ जनालाई टोक्दा एक जनाको मृत्यु भएको छ भने बाँकेमा ९८ जनालाई टोक्दा आठ जनाको मृत्यु भएको छ। बर्दियामा आठ जनालाई टोक्दा एक जनाको मृत्यु भएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
प्रदेशका तीन पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, रुकुमपूर्वमा भने अहिलेसम्म सर्पले टोकेका बिरामी अस्पताल नआएको निर्देशनालय जनाएको छ।
पाल्पामा ३३ जना, रोल्पामा सात जना, प्युठानमा एक जनालाई सर्पले टोकेकोमा उपचारपछि निको भएका छन्। पश्चिम नवलपरासीमा तीन जनालाई टोकेकोमा एक जनाको मृत्यु भएको छ।
लुम्बिनी प्रदेशमा अहिले १४ वटा सर्पदंश उपचार केन्द्र छन्। तीन वटा नेपाली सेना र अन्य स्वास्थ्य मन्त्रालयले आफ्ना अस्पताललाई सर्पदंशको उपचार केन्द्रका रूपमा खडा गरेको छ तर सर्पदंश उपचार केन्द्र भए पनि अझै घरमै वा उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु हुने सङ्ख्या धेरै देखिएको छ। यो प्रदेशमा १३ जना सर्पले टोकेका व्यक्तिको बाटोमै मृत्यु भएको निर्देशनालयको तथ्याङ्क छ।
रुपन्देहीमा सर्पले टोकेर मृत्यु भएका ११ जनामध्ये चार जनाको अस्पताल ल्याउन नपाउँदै मृत्यु भयो। बाँकेमा आठ जनामध्ये पाँच जनाको, कपिलवस्तुमा तीन जनामध्ये दुई जनाको, नवलपरासीमा तीन जनामध्ये एक जनाको बाटोमा मृत्यु भएको छ।
निर्देशनालयका प्राविधिक पाण्डेले भन्नुभयो, “धेरै बालबालिका र पिछडिएको वर्गलाई सर्पको टोकाइको लक्षण थाहा नहुने, अर्कोतिर सर्पदंश उपचार केन्द्र पु-याउन ढिलाइ गर्दा धेरैको मृत्यु हो। ढिलो उपचार गर्दा सर्पको विष शरीरका अन्य भागमा पुगेर मृत्यु हुने सम्भावना धेरै हुन्छ।”
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले भन्नुभयो, “सर्पदंशका कारण हुने मृत्युका घटना रोक्न प्रदेशमा रहेका सर्पदंश उपचार केन्द्रमा भ्याक्सिन, दक्ष जनशक्तिलगायतको व्यवस्था गरिएको छ। सर्पको टोकाइबाट बच्न चेतनामूलक कार्यक्रमहरू पनि आवश्यक छ।” कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीका अनुसार पछिल्लो समय सर्पले टोकेको भन्ने थाहा नहुँदा पनि जोखिम बढेको छ।