• १५ मंसिर २०८१, शनिबार

चार घन्टा समय थपेर सेवा

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, साउन १९ गते । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकाले अतिरिक्त चार घण्टा समय थपेर नागरिकलाई सेवा प्रवाह गरेको छ । कार्यालय समयमा बिहान दुई घण्टा र बेलुका दुई घण्टा गरी चार घण्टा समय थपेर साउन पहिलो सातादेखि नागरिकलाई सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीका अनुसार अहिले दैनिक रूपमा कार्यालय बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म खोलेर नागरिकलाई सेवा प्रवाह भइरहेको छ । उहाँका अनुसार उक्त कार्यका लागि गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यव्रmममै कार्यालयले अतिरिक्त सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । 

सो गाउँपालिकाका अनुसार अतिरिक्त समयमा ​​​​​​​गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख, लेखा शाखाका प्रमुखलगायतका कर्मचारी बिहान ८ बजे नै कार्यालय पुग्ने गरेका छन् । कार्यालयमा बिहान र बेलुका अतिरिक्त समयमा काम गर्ने कार्यालय सहयोगीहरूलाई भने दिउँसो काममा नआउँदा पनि हुने बताइएको छ ।

गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलन अतिरिक्त समयमा सेवा प्रवाहले नागरिकलाई सेवा लिन सजिलो भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो पालिका दुर्गम क्षेत्रमा रहेको पालिका हो । पाँच वटा वडा भए पनि सेवाग्राहीलाई सेवा लिन पालिकाको केन्द्रसम्म आउन जान निकै सकस बेहोर्नुपर्ने अवस्था छ । उनीहरूको हितलाई ध्यानमा राखेर अतिरिक्त समयमा पनि सेवा प्रवाह गर्न सुरु गरेका हौँ ।”