सिराज खान
नेपालगन्ज, साउन १९ गते । बाँकेस्थित नेपाल–भारत मुख्य नाकामा रहेको नेपालगन्ज भन्सार कार्यालयले गत केही वर्षयता राजस्व सङ्कलनको लक्ष्य भेट्टाउन सकेको छैन ।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार केही वर्षयता हरेक वर्ष निर्धारण गरिएको लक्ष्यभन्दा कम राजस्व सङ्कलन भइरहेको छ । भन्सारका एक अधिकृतका अनुसार राजस्व सङ्कलन घट्नुको एक प्रमुख कारण सशस्त्र द्वन्द्वका बेला बन्द गरिएका बाँके जिल्लाका छोटी भन्सार कार्यालयहरू अझै पुनस्र्थापना नहुनु पनि हो ।
स्थानीय बासिन्दाका अनुसार जिल्लाका विभिन्न नाकामा स्थापना गरिएका सात वटा छोटी भन्सार कार्यालय लामो समयदेखि सञ्चालनमा नरहेकाले ती नाका अवैध आयात निर्यातको प्रमुख केन्द्र बन्दै गएका छन् । छोटी भन्सार नभएका नाकाबाट पैदल, मोटरसाइकल र साइकलमा राखेर दैनिक ठुलो परिमाणको मालसामान राजस्व छलेर नेपाल भित्रिने गरेको प्रत्यक्ष देखिएको उनीहरूको भनाइ छ ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले छोटी भन्सार नहुँदा राजस्व चुहावट लामो समयदेखि हुँदै आएकाले पनि राजस्व सङ्कलन प्रभावित हुँदै गएको बताउनुभयो ।
उहाँले विगतमा छोटी भन्सार रहेका विभिन्न नाका अहिले तस्करीको केन्द्र बनेको पनि बताउनुभयो ।
नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकृत डिल्लुप्रसाद शर्माका अनुसार बाँकेको सुइया बगौडास्थित कटकुइया, नरैनापुर, भगवानपुर, खडैचा होलिया, हिरमिनियाको भघोटना, साई गाउँ र साई गाउँ पश्चिमतर्फको उढरापुर नाकामा छोटी भन्सार कार्यालय रहेका थिए तर लामो समयदेखि ती सबै छोटी भन्सार कार्यालय बन्द रहेका छन् ।
नरैनापुर, खडैचा, साई गाउँमा छोटी भन्सार रहेका भवन अहिले भत्किएर काम नलाग्ने अवस्थामा पुगेको भन्सार कार्यालयले जनाएको छ ।
विभिन्न ग्रामीण क्षेत्रको बाटोबाट भित्रिने मालसामानको भन्सार गर्ने छोटी भन्सार पुनस्र्थापना नगरिँदा भारतसँग सीमा जोडिएका ग्रामीण क्षेत्रबाट खुलेआम तस्करी हुने गरेको स्थानीयको भनाइ छ ।
नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकृत शर्माले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यभन्दा १२ प्रतिशत कम राजस्व सङ्कलन भएको जनाउँदै आव २०७९/८० मा झनै राजस्व सङ्कलन घटेर लक्ष्यभन्दा ३८ प्रतिशत कम राजस्व सङ्कलन भएको बताउनुभयो । उहाँले राजस्व सङ्कलनको लक्ष्य पूरा नहुनुमा धेरै कारण रहेकामा एक प्रमुख कारण छोटी भन्सार नहुनु वा ग्रामीण क्षेत्रबाट राजस्व छलेर सामान भित्रिनु पनि रहेको बताउनुभयो । बाँकेको सिमाना भारतसँग ६५ किलोमिटर खुला रहेको छ । साइड नाकाहरूमा नेपाली सुरक्षाकर्मीको पातलो उपस्थिति रहेकाले गर्दा भन्सार छली निकै हुने गरेको जनाइएको छ ।