घोडाघोडी समाचारदाता
घोडाघोडी (कैलाली), साउन १९ गते । कैलालीको पुरानो सदरमुकाम भजनीदेखि सुखड जोड्ने सडक चौडा नबनाइएको भन्दै स्थानीय नगरवासीले गुनासो गरेका छन्। सो सडक चौडासहित कालोपत्रेका लागि दोस्रो चरणको कामले तीव्रता पाएसँगै स्थानीयवासीले उक्त गुनासो गरेका हुन्।
पहिलो चरणमा भजनी नगरपालिकाको भजनी बजारदेखि सुखड खण्डको बिजुलियासम्म १० किलोमिटर सडक कालोपत्रेका लागि आर्थिक वर्ष २०७६/७७ बाट निर्माण अन्तिम चरणमा पुगेको छ।
त्यस्तै दोस्रो चरणमा आव २०७८/७९ अन्तिममा सुखडबाट सडक निर्माणको काम सुरु भएको हो तर पनि सडक फराकिलो नबनाएको र बजार क्षेत्रमा साँघुरिएको भन्दै स्थानीयले गुनासो गरेका हुन्।
अहिले सुखड बजार क्षेत्रमा नाली निर्माणसहित सडकको काम धमाधम भइरहँदा २० मिटर सडकलाई १६ मिटर हुँदै १२ मिटरमा झारी नाली निर्माण भइरहेको छ। सडक फराकिलो बनाउनुपर्नेमा थप साँघुरो बनाइएको छ। स्थानीय गजेन्द्र अर्यालले छिमेकी मुलुक भारतको तिकुनियासँग जोडिएको सुखड–भजनी सडकखण्ड बजार क्षेत्रमा आएर साँघुरो बनाएको गुनासो गर्नुभयो।
“पहिला २० मिटर थियो, पछि १६ मिटर चौडा गर्ने भनेर संरचना समेत हटाइए, अहिले निर्माण हुँदा १२ मिटरमा झारेको छ,” अर्यालले भन्नुभयो। घोडाघोडी नगरपालिका–१ का वडाध्यक्ष घनश्याम ओझाले प्रदेश सरकारको बजेटबाट सडक निर्माणको काम भइरहेको जनाउँदै स्थानीय सरकारलाई सहजीकरणका लागि जानकारी गराएको भए पनि निर्माण स्टिमेटमा १२ मिटर नै उल्लेख भएको जानकारी दिनुभयो।
प्रदेश सरकारले निर्माणको टेन्डर गर्दा नै १२ मिटर चौडा तोकेको जनाइएको छ। उहाँले १६ मिटर सडक चौडा गर्न पहल गरेको र सोही अनुसार गर्ने भनिए पनि खानेपानीको पाइपलाइन परेकाले १२ मिटरमा झार्नुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो।
सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा सडक स्तरोन्नतिसहित कालोपत्रे भइरहेको छ। पूर्वाधार विकास कार्यालय कैलालीका निमित्त प्रमुख रामचन्द्र खत्रीले आव २०७८/७९ को अन्तिमतिर सम्झौता भई काम सुरु भएको जानकारी दिनुभयो। उहाँले स्थानीय जनप्रतिनिधिको आग्रहमा बजार क्षेत्रमा चार लेनको सडक बराबर चौडा गर्ने मौखिक सहमति भए पनि सडक चौडा गर्ने क्षेत्र नभएपछि स्टिमेट अनुसार नै निर्माण अगाडि बढेको जानकारी दिनुभयो।
पिएस रोयल निर्माण कम्पनीले ३० महिनाभित्र निर्माण पूरा गर्ने गरेर ठेक्का लिएको हो। पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख खत्रीका अनुसार करिब २३ करोड लागतमा निर्माण हुने सुखड–भजनी सडकखण्डको कालोपत्रे धनगढी–अत्तरिया सडकखण्ड जतिकै मजबुत हुने छ ।
पहिला पनि कालोपत्रे भएर भत्किएको सो सडकको दुवै साइडमा एक एक मिटर छोडेर सात मिटर चौडा कालोपत्रेको लेयर र घनत्व मजबुत हुने गरेर निर्माण सामग्रीको प्रयोग हुने जनाइएको छ। खत्रीले अहिले ६० प्रतिशत निर्माणको काम सकिएको समेत जनाउनुभयो।