• १३ मंसिर २०८१, बिहिबार

पश्चिम सुर्खेतमा सडक : सुस्त निर्माण, जोखिममा यात्रु

blog

बुलबुले समाचारदाता

सुर्खेत, साउन १९ गते । पश्चिम सुर्खेतमा सडकको सहज पहुँच छैन। भएका सडक पनि जीर्ण छन्। बर्सातको समयमा हिलाम्मे सडकले सास्ती दिन्छ। हिउँदमा धुलाम्मे सडकको दुःख वर्षाैंदेखि नागरिकले झेल्दै आएका छन्।

मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिमका तीन वटा पालिका जोड्ने सडक स्तरोन्नति हुँदैछ। बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडकखण्डमा काम भइरहेको छ। यो सडक हुँदै दैनिक ठुलो सङ्ख्यामा मालवाहक, यात्रुवाहक र निजी सवारीसाधन ओहोरदोहोर गर्छन्। त्यही सडक बिचका खाल्टाखुल्टी र किनारमा थुपारिएका निर्माण सामग्रीले दुर्घटनाको जोखिम बढाइरहेको छ। पञ्चपुरी नगरपालिका–२ का पदम गिरीका अनुसार पुल र बाटो समयमा नबन्दा समस्या भइरहेको छ।

एकातिर सडक नै जीर्ण अवस्थामा छ, त्यसमाथि निर्माणमा भएको ढिलाइले समस्या निम्त्याएको देखिन्छ। उहाँका अनुसार राज मार्ग र प्रदेश सरकारले यो खण्डमा सडक निर्माणको काम गरिरहेको छ। काम निकै सुस्त छ। पश्चिम सुर्खेतका नागरिक सडक सास्तीले हैरान छन्। पञ्चपुरी–२ कै सागर थापाका अनुसार सडकको दुरवस्थाकै कारण दिनहुँ दुर्घटना हुने गरेको छ। ठाउँठाउँमा सडक भत्काएर अलपत्र छाड्दा यात्रुले दुःख पाएका छन्। उहाँले भन्नुभयो, “पैदल यात्रीलाई समेत आवतजावत गर्न समस्या भइरहेको छ। सडकको यस्तो दुर्गतिले विकास निर्माणलाई गिज्याइरहेको छ। राजमार्ग विस्तार आयोजनाले समयमा निर्माण नसक्दा यस्तो समस्या भएको हो।”

सडक निर्माण सुस्त

मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतका तीन खण्डमध्ये दुई खण्डमा काम सुरु भएको छ। सम्झौता अनुसारकै समयावधिभित्र निर्माण सम्पन्न गर्ने गरी बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडकखण्ड निर्माणको काम अघि बढाइएको छ। ४५ किलोमिटरको सडकलाई तीन खण्डमा विभाजन गरेर सडक निर्माण थालिएको हो। जसमध्ये दुई वटामा निर्माण सम्झौता भई काम सुरु भएको छ।

विद्यापुर–बल्दे सडकखण्डमा अहिले नाला र पर्खाल निर्माणको काम भइरहेको छ। पश्चिम क्षेत्रका तीन खण्डमध्ये यो तेस्रो खण्ड हो। २२ किलोमिटर सडक खण्ड निर्माणका लागि एक अर्ब २१ करोड रुपियाँमा काम सम्पन्न गर्ने गरी बानियाँ मोतिदान डिएस जेभी काठमाडौँले ठेक्का सम्झौता गरेको छ। सम्झौता अनुसार २०७९ फागुन १७ गतेदेखि सुरु भएको काम २०८२ फागुन १६ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने छ तर उक्त खण्डमा हालसम्म १० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ।

रुख कटानको अनुमति नपाउँदा पनि सडक निर्माणमा अवरोध भएको छ। कटान आदेश नहुँदा सडकको बिचबिचमा रुख छोडेर काम गर्ने गरिएको छ। सडक निर्माणका लागि वन क्षेत्रका रुख काट्नुपर्ने हुन्छ। एक हजार तीन सय रुख काट्नका लागि टाँचा लगाइसकिएको छ। सडकको आफ्नो क्षेत्रभित्र पर्ने भए पनि सार्वजनिक जग्गामा रहेका रुख कटानका लागि अनुमति नआएको बताइन्छ। मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका इन्जिनियर जितेन्द्र शाहका अनुसार रुख कटानका लागि फाइल अघि बढेको छ। वन डिभिजनबाट टिप्पणी उठाएर वन मन्त्रालयमा फाइल पुगेको बताइन्छ।

उहाँका अनुसार सडक निर्माणको काम गर्नका लागि वन बाधक बनेको छ। आयोजनाले वन विभागसँग रुख कटानका लागि प्रक्रिया अघि बढाएको छ। त्यसपछि कामको भौतिक प्रगति देखिने छ। प्रक्रियागत ढिलाइ र कामदारसमेत पर्याप्त नहुँदा आयोजनाको काम सुस्त भइरहेको बताइन्छ।

बर्सातले निर्माण कार्य ठप्प

मदन भण्डारी राजमार्ग अन्तर्गतकै बड्डीचौर–खम्बागाडे सडकखण्डको काम रोकिएको छ। बर्सातका कारण निर्माण कार्य रोकिएको जनाइएको छ। पूर्वाधार विकास निर्देशनालयका इन्जिनियर हरि शर्मा धितालका अनुसार भदौसम्मका लागि काम स्थगित गरिएको छ। १२ किलोमिटरको बड्डीचौर–खम्बागाडे सडकखण्ड निर्माणको जिम्मा अनक जयदेवी जेभी बाँकेले पाएको छ। ४२ करोड ४७ लाख ६१ हजार रुपियाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी प्रदेश सरकारको पूर्वाधार विकास निर्देशनालयले उक्त जेभीसँग सम्झौता गरेको हो। २०७९ देखि निर्माण सुरु गरिएको हो। सम्झौता अनुसार २०८१ असार १५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने छ।

यो सडकखण्डमा सात किलोमिटर जङ्गल क्षेत्र परेको छ। चार किलोमिटरको काम भने लगभग सकिएको छ। यद्यपि, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) भने स्वीकृत भइसकेको छैन। स्वीकृतिका लागि मन्त्रालयमा पेस गरिएको जनाइएको छ। दुई वटा खण्डको काम भइरहे पनि राजमार्ग अन्तर्गत १० किलोमिटरको खम्बागाडे–विद्यापुर सडक खण्डको काम भने अघि बढ्न सकेको छैन। उक्त खण्डमा कामको सम्झौता गर्ने तयारी भइरहेको बताइन्छ।