• ४ पुस २०८१, बिहिबार

ग्रामीण आँखा केन्द्र सञ्चालन

blog

चरीकोट समाचारदाता

चरीकोट, साउन १९ गते । दोलखा जिल्लाको तामाकोशी गाउँपालिकामा ग्रामीण आँखा केन्द्र सञ्चालनमा आएको छ । सो गाउँपालिका–४, मालुमा स्थापना गरिएको केन्द्रको मङ्गलबार गाउँपालिकाका अध्यक्ष प्रोेणप्रताप केसी र उपाध्यक्ष सिर्जना सुवेदीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।

तिलगङ्गा आँखा प्रतिष्ठान, दोलखा लायन्स क्लब र तामाकोशी गाउँपालिकाको सहकार्यमा आँखा केन्द्र सञ्चालनमा आएको हो । केन्द्र सञ्चालनमा ल्याउन करिब १४ लाख रुपियाँ लगानी भएको छ । केन्द्र सञ्चालनका लागि गाउँपालिकाले भवनसहित आवश्यक सामग्री उपलब्ध गराएको छ । 

केन्द्र सञ्चालनमा आएसँगै यस क्षेत्रका सर्वसाधारणले गाउँपालिकामै सहजै आँखाको उपचार पाउने भएका छन् । आँखा केन्द्र उद्घाटनको अवसरमा भएको निःशुल्क आँखा शिविरमा १०४ जनाको आँखा परीक्षण गरी बिरामीलाई निःशुल्क औषधी र १८ जनालाई चस्मा वितरण गरिएको तामाकोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्रले जानकारी दिनुभयो । केन्द्रमा एक जना नेत्र सहायक र एक जना कार्यालय सहयोगी राखिएको गाउँपालिकाले जनाएको छ ।