काठमाडौँ, साउन १९ गते । वैदेशिक रोजगारीमा जाने युवाका लागि पेसागत सिप अनिवार्य गरिएसँगै दक्ष भएर विदेश जाने युवाको सङ्ख्या क्रमशः बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा भन्दा आव २०७९/८० मा वैदेशिक रोजगारीमा दक्ष भएर जानेको सङ्ख्या ३१ प्रतिशतले बढेको हो ।
आव २०७५/७६ मा वैदेशिक रोजगारीमा जान पाँच लाख आठ हजार ८२७ जनाले श्रम स्वीकृति लिएकामम ३५ प्रतिशत दक्ष रहेको पाइएको छ । आव २०७९/८० मा सात लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृति लिएकामा दक्ष जनशक्तिको सङ्ख्या पाँच लाख छ हजार ७४६ जना (६६ प्रतिशत) रहेको छ ।
यो सङ्ख्या हेर्दा आव २०७८/७९ मा भन्दा आव २०७९/८० मा १९ प्रतिशत बढेको देखिन्छ । दुई वर्षको तथ्याङ्कबाट पनि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने क्रम बढेको पुष्टि गर्छ ।
यस्तै आव २०७८/७९ मा छ लाख ३० हजार ९० जनाले श्रम स्वीकृति लिएर विदेश गएकामा दुई लाख ९१ हजार ८८९ जना (४७ प्रतिशत) दक्ष जनशक्ति थिए भने आव २०७७/७८ मा एक लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिएकामा ७० हजार ४२६ (४२ प्रतिशत) जना दक्ष रहेका छन् ।
विभागका अनुसार आव २०७९/८० मा सात लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृति लिएर विदेश गएकामध्ये अर्धदक्ष भएर जानेको सङ्ख्या ६० हजार ५५५ जना (आठ प्रतिशत) रहेको छ भने अदक्षको सङ्ख्या दुई लाख दुई हजार ६१६ जना (२६ प्रतिशत) रहेको छ । यस्तै सो अवधिमा उच्च सिपयुक्त (इन्जिनियर, चिकित्सक, व्यवस्थापक) मा काम गर्न जानेको सङ्ख्या एक हजार ४१० जना (दुई प्रतिशत) रहेको छ ।
आव २०७८/७९ मा छ लाख ३० हजार ९० जनाले श्रम स्वीकृति लिएकामा अर्धदक्ष भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ५४ हजार ३२८ जना (नौ प्रतिशत) रहेको छ भने सो अवधिमा अदक्ष दुई लाख ४३ हजार ६८ जना (४५ प्रतिशत) ले श्रम स्वीकृति लिएर गएका थिए ।
सरकारले रोजगारमूलक सिप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागु गरेर नेपालबाट वैदेशिक रोजगारीमा जाने सबै युवालाई सिपयुक्त प्रमाणपत्रका आधारमा पठाउने भनेको छ । सिपलाई अनिवार्य गर्न नसके पनि सिप लिएर विदेश जानेको सङ्ख्या क्रमशः बढेको छ ।
आव २०७५/७६ मा वैदेशिक रोजगारीमा पाँच लाख आठ हजार ८२७ मध्ये ३५ प्रतिशत दक्ष रहेको पाइएको छ । दक्ष भएर विदेश जाने युवाको सङ्ख्या आव २०७७/७८ मा बढेर ४२ प्रतिशत पुगेको देखिन्छ ।
त्यसो त सरकारले २०७७ भदौबाट तोकिएको क्षेत्र अनुसार एक महिनाको सिपसम्बन्धी तालिम नलिएका युवा वैदेशिक रोजगारीमा जान नपाउने जनाउँदै कार्यविधि बनाएको थियो । वैदेशिक रोजगारीमा जाने युवाको कामलाई आम्दानी र सुरक्षाका हिसाबले मर्यादित बनाउन तीन वर्षअघि नै कार्यविधि बनाएर एक महिनाको सिप विकास तालिम अनिवार्य गरिएको थियो । रोजगारमूलक सिप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागु भएपछि नेपालबाट वैदेशिक रोजगारीमा जाने सबै युवा सिपयुक्त प्रमाणपत्रका आधारमा जानुपर्ने उल्लेख छ ।
वैदेशिक रोजगार ऐनमा वैदेशिक रोजगारीमा जाँदा अनिवार्य तालिम लिनुपर्ने व्यवस्था छ । यसका लागि वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्डले रोजगारीका लागि विदेश जाने युवाले अनिवार्य सिप विकाससम्बन्धी तालिम लिनुपर्ने जनाउँदै यसका लागि कामसमेत गरिरहेको छ । विगतमा तालिम नै नलिई नक्कली प्रमाणपत्र लिएर विदेश जाने प्रवृत्ति देखिएपछि अनलाइन प्रणालीमार्फत तालिमको ट्र्याकिङसमेत गरिने जनाए पनि सोको सफल कार्यान्वयन हुन सकेको छैन ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले वैदेशिक रोजगारमा जाने र फर्केका श्रमिकका लागि सिपमूलक तालिमलाई अनिवार्य गर्न नसके पनि बढ्ने व्रmममा रहेको जानकारी दिनुभयो ।
व्यवसायीले कामदार भर्ना गर्दा मागपत्रमा एक प्रकारको काम भनेर प्रक्रिया अघि बढाउने र विदेश पुगेर अर्को काम गराउने गरेको गुनासो धेरै आउन थालेपछि तालिमको व्यवस्थालाई अनिवार्य गरिएको थियो । विगतमा म्यानपावर व्यवसायीले एक कामका लागि युवा भर्ना गर्ने र अर्को काममा लगेर तोकिए अनुसारको पैसा नदिने समस्या थियो । विगतमा तालिमको व्यवस्था भए पनि तालिममा सहभागी नै नभई प्रमाणपत्र लिने क्रम बढेको थियो । अब भने सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) बाट तालिम लिए–नलिएको, कक्षामा उपस्थित भए–नभएको हेरेर सही भए मात्र प्रमाणपत्र दिने गरिएको छ ।
अहिले सरकारले तालिमका सम्बन्धमा बनाएको प्रणालीका कारण विगतमा जस्तो नक्कली प्रमाणपत्र बनाउन नसक्ने अवस्था भए पनि तालिमको अनुगमन भने गरेको पाइँदैन । वैदेशिक रोजगार विभागले तालिमप्रदायक संस्थासँग सरकारको बायोमेट्रिक प्रमाण अनुसारको अनलाइन प्रणाली हुने भएका कारण तालिममा अनिवार्य उपस्थित हुनुपर्ने जनाए पनि पूर्ण रूपमा नियम कार्यान्वयन भएको छैन । विदेशबाट सिप सिकेर आएकाहरूले समेत सरकारले तोके अनुसारको सिप परीक्षण गरी प्रमाणपत्र लिएर मात्र विदेश जान पाउने छन् ।
वैदेशिक रोजगारमा जाने युवाले निर्माण क्षेत्र अन्तर्गत मेसन, स्काफोल्डिङ, वेल्डिङ, फर्निचर एन्ड फर्निसिङ, प्लम्बिङ, इलेक्ट्रिसियन, सटरिङ कार्पेन्टर, स्टिल फिक्चर्स र टायल मार्बल कटिङ, फिटिङलगायतका क्षेत्रमा जाने पूर्वयोजना अनुसार तालिम लिएर मात्र श्रम स्वीकृति पाउँछन् । यसै गरी होटल व्यवस्थापन क्षेत्र अन्तर्गत कुक, वेटर, हाउस किपिङ, क्लिनर र फ्रन्ट अफिस सेवालगायतका क्षेत्रमा समेत तालिमको व्यवस्था गरिएको कार्यविधिमा उल्लेख छ । सेवा क्षेत्र अन्तर्गत सुरक्षा गार्ड, अफिस सेक्रेटरी, पेन्टर, ब्युटी पार्लर र अन्य क्षेत्रमा गार्मेन्ट टेलरिङ, आल्मुनियम फेब्रिकेटरमा समेत तालिम लिन सकिने छ ।