अविनाश चौधरी
धनगढी, साउन १८ गते । नेपालकै पहिलो चरा आरक्ष कैलालीस्थित घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा पाइने हरिहाँसको प्राकृतिक बासस्थान मासिदैंगएको छ ।
सामुदायिक वन क्षेत्रमा पाइने ढलेका, सुकेका रुखहरु सङ्कलन गर्ने, काट्ने कारणले हरिहाँसको बासस्थान बिग्रिदैगएको हो । जसका कारण यो प्रजातिका चराको सङ्ख्यामा वृद्धि हुन सकेको छैन ।
हरिहाँस घोडाघोडीको सूचक प्रजातिका चरा हुन । यहाँ यो प्रजातिका चराको सङ्ख्या बढ्दै गएमा जैविक विविधताको अवस्था राम्रो भएको बुझाउने छ । यसैगरी, सङ्ख्या निरन्तर घट्दै गएमा अवस्था ठीक छैन भन्ने बुझाउनेछ ।
विगतकेही वर्षदेखि अहिलेसम्मको अवस्था हेर्दा घोडाघोडीमा हरिहाँसको सङ्ख्या स्थिर देखिएको चरा सञ्जाल कैलालीका अध्यक्ष एवम् चराविद डीआर चौधरीले बताउनुभयो । उहाँका अनुसार यहाँ हरिहाँसको सङ्ख्या खासै बढेको छैन । धेरै घटेको पनि छैन । “पछिल्लो पाँच वर्षयता, साढे तीन सय, चारसयको आसपासमा हरिहाँसको सङ्ख्या छ” चौधरीले भन्नुभयो ।
हरिहाँसको सङ्ख्या पत्ता लगाउन नेपाल पंछी संरक्षण संघ (बीसीएन) र सञ्जालद्वारा जाडो र गर्मीयाममा गरेर बर्सेनि दुई पटक अनुगमन हुँदैआएको छ । केही दिन अगाडि गर्मी याममा गणना गर्दा घोडाघोडीमा २६१ हरिहाँस फेला परेका छन् । यसैगरी, गत जाडोमा ३८० को हाराहारीमा हरिहाँस अभिलेख थियो । अघिल्लो गर्मी याममा यही ठाउँमा ३०० को हाराहारीमा हरिहाँस गणना गरिएको थियो ।
यस पटक गणना गर्न केही ढिलाई भएका कारण हरिहाँस कम सङ्ख्यामा भेटिएको चराविद हिरुलाल डङ्गौराले बताउनुभयोे । हरिहाँसको प्रजनन् समय सुरु भएकाले कम देखापरेका उहाँले जनाउनुभयो । यो प्रजातिका चराले जुनदेखि सेप्टेम्बरसम्म अण्डा पार्ने, बच्चा कोरल्ने गर्दछन् । “प्रजनन् समयमा सुकेका रुखको टोड्कोभित्र हरिहाँस लुकेपछि देखिने सम्भावना कम रहन्छ” डङ्गौराले भन्नुभयो ।
हरिहाँसले कैलालीको बसन्ता वनमा रहेको घोडताल, सोनियाँरुपियाँ, नुक्लीताल, लौकाहा भौकाहा तालमासमेत ‘ब्रिडिङ’ गर्ने गरेको जनाइएको छ । घोडाघोडीमा सन २००९ मा गरिएको सुरुको गणनामा जाडो याममा १५५ र गर्मी याममा १३९ हरिहाँस अभिलेख भएका थिए । यो प्रजातिको चरा गर्मी याममा कम र जाडो याममा बढी अभिलेख हुने गरेको जनाइएको छ ।
घोडाघोडी ताललाई विश्व रामसार क्षेत्रमा सूचित गर्ने क्रममा सन २००० मा यो तालमा सबैभन्दा बढी हरिहाँस चरा पाइएका थिए । दक्षिण एसियामा रहेको हरिहाँसको कुल सङ्ख्याको एक प्रतिशत हरिहाँस घोडाघोडीमा पाइएपछि यो प्रजातिको चरालाई घोडाघोडीको सूचक प्रजाति मानिएको चराविद चौधरीले बताउनुभयो ।