राममणि दाहाल
हेटौँडा, साउन १८ गते । दुई महिनाअघि सत्ता गठबन्धनका दलबिचको लामो रस्साकस्सीपछि मन्त्रीपरिषद् विस्तारले पूर्णता पाएको बागमती प्रदेशमा अहिले कार्यविभाजनमा समस्या देखिएको छ ।
सत्ता साझेदार दलबिच भागबन्डा मिलाउन ११ मन्त्रालय रहेको यस प्रदेशमा एक बिनाविभागीयसहित १२ मन्त्री बनाएर सहमति जुटाइएको थियो तर बिनाविभागीयमन्त्री दुई महिनाभन्दा लामो समयदेखि मन्त्रालयविहीन हुनुहुन्छ । मन्त्रालय फुटाएर कार्यविभाजन गर्न सकस भएको हो । गत जेठ ७ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसबाट चार र नेकपा (एकीकृत समाजवादी) बाट दुई गरी छ जना मन्त्री थप गर्दै चौथो पटक मन्त्रीपरिषद् विस्तार गर्नुभएको थियो ।
मन्त्रीपरिषद् विस्तारसँगै कांग्रेसबाट बिनाविभागीयसहित छ, माओवादी केन्द्रको मुख्यमन्त्रीसहित चार र एकीकृत समाजवादीबाट दुई जना मन्त्री बन्नुभएको थियो । बिनाविभागीयमन्त्री बन्नुभएका कांग्रेसका रामकृष्ण चित्रकार भने मन्त्रालयविहीन हुँदा शपथग्रहणसँगै मुख्यमन्त्री कार्यालयको एउटा कार्यकक्षमा सीमित बन्नुभएको छ । मन्त्रीले पाउने सुविधा पाए पनि लामो समय हुँदासमेत भूमिकाविहीन भएका कारण उहाँको अधिकांश समय प्रदेश राजधानीबाहिरै बित्ने गरेको छ ।
तोकिएन जिम्मेवारी
मन्त्रीपरिषद् विस्तारका व्रmममा प्रदेश प्रमुखको कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा मन्त्री चित्रकारको मन्त्रालयको जिम्मेवारी पछि तोकिने भनिएको थियो । पछि तोकिने भनेको समय नआउँदा र कांग्रेस र माओवादी केन्द्रबिच कसको भागमा परेको मन्त्रालय फुटाउने भन्नेबारेमा विवाद हुँदा कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेतासमेत रहेका चित्रकार भूमिकाविहीन बन्दै आउनुभएको हो ।
मुख्यमन्त्रीलाई दोस्रो पटक विश्वासको मत दिने समयमा कांग्रेस र एकीकृत समाजवादीसँग जनाएको सहमति कार्यान्वयन गर्न भन्दै दुवै दलले दाबी नछाड्दा विभागीयमन्त्री नियुक्त गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । उता माओवादी केन्द्रले पहिले नै पाएको मन्त्रालय नछोड्दा, एकीकृत समाजवादी र कांग्रेस आफ्नो दाबीबाट पछाडि नहट्दा मन्त्रालय सङ्ख्याभन्दा मन्त्री बढाउनुपर्ने अवस्था आएको हो । मन्त्रीपरिषद् गत जेठमा विस्तारसँगै पटक पटक कार्य विभाजनबारे दलहरूबिच छलफल भए पनि सहमति जुट्न नसकेको एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले बताउनुभयो ।
बिहीबार छलफल हुँदै
मन्त्रीपरिषद्को कार्यविभाजनबारे विवाद मिलाउन काठमाडौँमा नेताहरूबिच छलफल हुने भएको छ । मन्त्रालय भागबन्डामा सहमति नजुटेपछि बिनाविभागीयमन्त्री राखेर मन्त्रीपरिषद् विस्तार गरिएपछि पछिल्लो समय मुख्यमन्त्री जम्कट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा तामाङ र एकीकृत समाजवादीका खनालबिच मन्त्रालय फुटाउनेबारे छलफल भए पनि कुन मन्त्रालय फुटाउने भनेर निर्णय हुन सकेको छैन ।
एकीकृत समाजवादीका नेता खनालका अनुसार कांग्रेसले माओवादीको भागमा परेको सबैभन्दा बढी बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय बनाई सहमति जुटाउन भनेको छ । माओवादी केन्द्रले भने कांग्रेसले आफ्नै भागमा परेको मन्त्रालय फुटाएर मिलाउनुपर्ने जिकिर गर्दै आएको छ । उता आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ मन्त्रालय फुटाएर कार्यविभाजन गर्ने विषय पेचिलो बनेको स्विकार्नुहुन्छ । छलफलबाट सहमति जुटाउने प्रयास भइरहेको छ ।
मन्त्रालय फुटाउने तयारी हो भन्ने गोरखापत्रको प्रश्नमा मन्त्री श्रेष्ठले भन्नुभयो, “फुट्छ भन्दा नि गाह्रो, फुट्दैन भन्दा नि गाह्रो छ ।” यस्तै कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री तामाङले कार्यविभाजनबारे छलफल चलिरहेको बताउँदै चाँडै सहमति जुट्ने बताउनुभयो । उहाँले मुख्यमन्त्रीसँग बिहीबार काठमाडौँमा कार्यविभाजनबारे छलफल गर्ने तयारी भएको गोरखापत्रलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिहीबार छलफल गर्दै छौँ । कसरी जाने र कुन मन्त्रालय विभाजन गर्ने भन्नेबारेमा सहमतिको प्रयास हुने छ ।” यसअघि राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको प्रदेश सरकारले आठ मन्त्रालय फुटाएर १४ वटा बनाएपछि मन्त्रालय फुटाउनुको औचित्य पुष्टि नभएको र साधारण खर्च बढ्ने भन्दै आलोचना भएको थियो । सडक र प्रदेश सभामा विरोध भएपछि १४ वटा मन्त्रालयलाई घटाएर ११ वटा बनाइएको थियो ।