• ५ वैशाख २०८१, बुधबार

राष्ट्रिय परिचयपत्र वितरण

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, साउन १८ गते । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । राष्ट्रिय परिचयपत्रका लागि तीन वर्षअघि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमार्फत विवरण भरेर आवेदन दिएकामध्ये परिचयपत्र बनेर आएका व्यक्तिलाई मङ्गलबारदेखि वितरण सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र वितरण शाखाकी प्रमुख मिथिला विष्टका अनुसार तीन वर्षअघि दुई हजार ६० जना पुरुष र एक हजार ८४६ महिला गरी तीन हजार ९०६ जनाले आवेदन फाराम भरेका थिए । तीमध्ये हाल प्राप्त एक हजार १८१ परिचयपत्र वितरण सुरु भएको हो । यो तीन वर्षको अवधिमा ३४ हजार ५५६ जनाले परिचयपत्रका लागि आवेदन भरिसकेका छन् । 

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले केन्द्रबाट प्राप्त भएबमोजिम क्रमशः वितरण हुँदै जाने जानकारी दिनुभयो । परिचयपत्र भएपछि नागरिकता, मतदाता परिचयपत्रलगायतका कागजपत्र बोकिरहनु नपर्ने उहाँले बताउनुभयो । राष्ट्रिय परिचयपत्र पाएपछि गोलन्जोर गाउ“पालिका–५ निवासी नवराज थापाले खुसी व्यक्त गर्दै भन्नुभयो, “२०७७ सालमा राष्ट्रिय परिचयपत्र बनाउन विवरणसहितको फाराम भरी सिडिओ कार्यालयमा बुझाएको थिएँ । लामो समयको प्रतीक्षापछि बल्ल हात लाग्यो ।” 

कार्यालयका अनुसार नागरिकता जस्तो सिफारिसकै आधारमा परिचयपत्र नबन्ने भएकाले सुरुमै जैविक परीक्षण गरेर विवरण फाराम सङ्कलन भइरहेको छ ।