• १४ मंसिर २०८१, शुक्रबार

कांग्रेस आफ्नै एजेन्डाबाट विचलित भयो : नेता भण्डारी

blog

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारीलगायत ।

फडिन्द्र अधिकारी 

लेखनाथ, साउन १७ गते। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारीले कांग्रेस आफ्ना एजेन्डाबाट विचलित भएको बताउनुभएको छ। बुधबार पोखरामा पत्रकारसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो। “प्रजातन्त्र, राष्ट्रियता र समाजवाद”को मुख्य एजेन्डबाट पर गएर कांग्रेसले कम्युनिस्टका एजेन्डा आत्मसात् गरेको उहाँको आरोप छ। 

उहाँले भन्नुभयो, “कांग्रेसले समाजवाद उन्मुख अर्थतन्त्र स्वीकारेको छ। संविधानमै कम्युनिस्टको एजेन्डामा कांग्रेसले सहमति गरेको छ।” जनताको अभिमत विपरीत धर्मनिरपेक्षता संविधानमा घुसाइएको उहाँको आरोप छ। 

देशको अर्थतन्त्र र शासन व्यवस्था निकै कमजोर हुँदासमेत दलहरु व्यक्तिगत पूर्वाग्रह र विभिन्न स्वार्थमा विभक्त भएको भन्दै उहाँले चिन्ता जाहेर गर्नुभयो। कर्मचारीलाई तलब खुवाउन ऋण लिनुपर्ने, निर्माण सम्पन्न भइसकेका योजनामा भुक्तानी दिन नसक्ने अवस्था आएको जिकिर गर्दै उहाँले अब दल, नेता, कार्यकर्ता सुध्रिनुपर्ने बताउनुभयो। 

अहिलेको संघीयता र निर्वाचन प्रणाली खर्चिलो र बोझिलो भएकाले यी एजेन्डामा व्यापक बहस गरेर परिवर्तन गर्नुपर्नेमा उहाँको जोड छ। कांग्रेस र कम्युनिस्टले बारम्बार एकल बहुमत ल्याएर पनि पाँच वर्ष सरकार चलाउन नसक्नुमा वैदेशिक हस्तक्षेप प्रमुख कारण रहेको उहाँको भनाइ छ।