• २५ वैशाख २०८१, मङ्गलबार

बाउली गाडमा पुल नै छैन, तिपाडामा दुइटा

blog

शेरबहादुर सार्की

बाजुरा, साउन १७ गते । बाजुराको मार्तडी–कोल्टी सडकमा गाडी चल्न थालेको करिब सात वर्ष बितेको छ तर यस सडकखण्डमा पर्ने बाउली गाड (नदी) मा भने पुल बन्न सकेको छैन।  बर्खाको समय मार्तडी–कोल्टी सडकको बिचमा रहेको बाउली खोला तर्न निकै समस्या हुने गरेको छ। खोलामा पुल नहुँदा सर्वसाधारणले निकै सास्ती भोग्ने गरेका छन्। 

पुल निर्माण नहुँदा बर्खाको समय बाउलीमा मार्तडी–कोल्टी सडकमा चल्ने गाडी खोलाको वारि र पारि रोकिने गरेका छन्। गत साउन ७ गते कैलाली–६, जोशीपुरका ३२ वर्षीय डुबनारायण चौधरीको सो खोलामा बगेर ज्यान गएको छ। 

कोल्टीदेखि मार्तडीका लागि से २ त ३२२५ नम्बरको ट्याक्टर चलाएर आएका चौधरीलाई बाउली गाडमा आएको बाढीले बगाएर बेपत्ता पारेको छ। उहाँले चलाएको ट्याक्टर २० मिटर तल फेला परेको हो। 

चौधरीको शव भने अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। हिउँदमा मार्तडीदेखि कोल्टी सडकमा गाडी चल्ने भए पनि बर्खाको समयमा भने पानीको बहाव बढ्दै जाने भएकाले गाडी चलाउन समस्या हुने गरेको चालक लक्ष्मण भण्डारीले बताउनुभयो।

मार्तडीदेखि कोल्टीसम्म गाडी चलेको धेरै वर्ष भयो। त्यो खोलामा पुल नहुँदा बर्खाको समय जिप मार्तडी नै रोकिने गरेको उहाँले बताउनुभयो। बडीमालिका नगरपालिका–९, अनाई बाउली खोलामा पुल नहुँदा पूर्वी उत्तर क्षेत्रमा रहेका हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दालगायतका स्थानीयलाई आउजाउमा समस्या हुने गरेको छ। 

यस्तै साँफे–मार्तडी सडकको बिचमा रहेको तिपाडा खोलामा भने एउटै ठाउँमा दुइटा पुल निर्माण भएका छन्। पक्की पुलसँगै रहेको अर्को बेलिब्रिज पुललाई बाउली खोलामा राख्नुपर्ने स्थानीयको माग छ। 

तिपाडा खोलामा दुई पुल, बाउली खोलामा भने एउटा पनि पुल नहुँदा चालकले अकालमै ज्यान गुमाएको बडीमालिका नगरपालिकाका स्थानीय पदम साउदले बताउनुभयो। उसो त २०७८ सालमा २५ मिटर लम्बाइ पुल निर्माणका लागि जुगल निर्माण कम्पनीले पाँच करोडमा ठेक्का लिएको छ।

सो कम्पनीले पुलको ठेक्का लिए पनि काम पूरा नगरी असार मसान्तसम्म निर्माण गर्ने अवधि समाप्त भएको छ तर पुल भने अहिलेसम्म निर्माण भएको छैन। बाउलीमा आएको बाढीले पुल निर्माणका लागि गरेको फाउन्डेसन तथा रड बगाएपछि पुल निर्माणमा ढिलाइ भएको जुगल कम्पनीले जनाएको छ। २०८० सालको असार मसान्तसम्ममा पुल निर्माण सम्पन्न गर्ने जिम्मा लिएको जुगल कम्पनीको म्याद अवधि असार मसान्तसम्म गइसकेको सडक डिभिजन कार्यालय अछामका प्रमुख विवश बस्नेतले बताउनुभयो।

सो कम्पनीले बाउलीमा पुल निर्माणका लागि केही काम गरेको भए पनि असारमा सक्नु पर्ने हो तर पुल निर्माणको काम नसकेपछि म्याद थप नगरेको उहाँले बताउनुभयो। कम्पनीले म्याद थपका लागि निवेदन दिएको छ, उहाँले भन्नुभयो, “तर त्यो निवेदनमा पुल निर्माणमा ढिलाइ भएको कुरा प्रस्ट छैन।”

  खुल्यो अवरुद्ध सडक

साउनको पहिलो सातादेखि लगातार परेको अविरल वर्षाका कारण अवरुद्ध जगनाथ गाउँपालिकाका ग्रामीण सडक पुनः सञ्चालनमा आएका छन्। कर्णाली कोरिडोरसँग जोडिएको सिमल खोला सडकमा पहिरो गएपछि जगनाथ गाउँपालिकाको १ देखि ६ वडासम्म पुग्ने सबै सडक अवरुद्ध बनेका थिए। 

गाउँपालिकाले कर्णाली कोरिडोर सडकसँग जोडिएको जगनाथको सिमल खोला सडकमा गएको ठुलो पहिरोलाई सफा गरेपछि सबै ग्रामीण सडक फेरि सञ्चालनमा आएका हुन्। स्थानीय दुर्गा बुढाले साउनको पहिलो सातादेखि लगातार परेको पानीले ग्रामीण सडक बिग्रिएपछि आउजाउमा समस्या भएको बताउनुभयो।

उहाँले भनुभयो, “अहिले स्थानीय सरकारले सडक मर्मत गर्दै गएपछि आउजाउमा निकै सहज भएको छ।” जगनाथ गाउँपालिका–५ को सिमल खोलाको करिब ६० मिटर सडकमा पहिरो जाँदा कर्णाली कोरिडोर अन्तर्गत पर्ने पूरै सडक अवरुद्ध भएको थियो। गाउँपालिकाले सडकमाथि खसेको पहिरो सफा गरेपछि ग्रामीण सडक सञ्चालनमा आएको वडा अध्यक्ष गौरी सार्कीले बताउनुभयो। हिउँदमा सञ्चालन हुँदै आएका ग्रामीण सडक बर्खाको समय पनि निरन्तरता दिने गरेर मर्मत तथा सफा गरिँदै आएको बताइएको छ।