भावना जोशी
अत्तरिया (कैलाली), साउन १७ गते । गौरा पर्व सुदूरपश्चिम (सुप) प्रदेशको महत्वपूर्ण मौलिक चाड हो । सुप प्रदेशका नौवटै जिल्लामा यो पर्व धूमधामका साथ परापूर्वकालदेखि नै मनाइँदै आइएको छ । भाद्र शुक्ल अष्टमीका दिन यो पर्व मनाइन्छ । भाद्र शुक्ल अष्टमीअगावै अगस्त्य ऋषिको उदय भयो भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको छ ।
कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज लागेपछि पनि गौरा मनाउनु हुँदैन । सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौमा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको विद्वान्हरूको भनाइ छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो वर्ष गौरा पर्व भदौ ७ मा पर्ने उल्लेख गरेको छ ।
सुदूरपश्चिमा भने गौरा कहिले मनाउने भन्ने विषयमा लामो समयदेखि अन्योल छ । यस क्षेत्रका केही ज्योतिषी जनैपूर्णिमा पछि मात्र दुर्वाधागो लगाउनुपर्ने तर्क गर्छन् भने अर्कोथरी अगस्त्यको उदयपछि गौरा मनाउनु हुँदैन भन्ने तर्क गर्दै आएका छन् । यस वर्ष साउन र भदौमा मलमास परेकाले श्रावण शुक्लपक्षमा गौरा पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलको भनाइ छ । उहाँ सुप प्रदेशमा विवाद भए पनि अन्य २४ जिल्लामा भने भदौ ७ गते नै गौरा पर्व मनाउने बताउनुहुन्छ । शास्त्र, पुराण निर्णय सिन्धु सबै हेरेर दुई÷तीन पटक छलफल गरी नेपाल बाहिर रहेका विद्वान्लाई सोधेर गणितीय हिसाबले समितिले यो निर्णय गरेको उहाँको दाबी छ । उहाँ भन्नुहुन्छ, “सबै व्रतालुले ७ गते नै गौरा मान्न उपयुक्त हुन्छ ।”
अगस्त्यको उदय भारतको उत्तर प्रदेश काशी बनारसमा भदौ १५ गते हुने, नेपालको उत्तरभाग सुदूरपश्चिम प्रदेशलगायतमा १९ गते राति ४ बजे उदय हुने हुँदा दुर्वाको पूजा गर्न नमिल्ने बताउँदै आएका छन् । गौरा पर्व भनेको दुर्वाष्टमीसँग जोडिएको पर्व पनि हो । यदि कसैले यसमा दुर्वाष्टमी पूजा गरे पुत्र नाश हुने, नराम्रो फल मिल्ने उल्लेख छ । यी सबै हेरेर भदौ ७ गते नै गौरा पर्व राखिएको उहाँले स्पष्ट पार्नुभयो ।
तर सुदूरपश्चिमका ज्योतिषीहरूले नेपाल पञ्चाङ्ग निर्णायक समितिको निर्णयभन्दा फरक मत राखेका छन् । भदौ ७ गते साउन शुक्ल पक्षको अष्टमी तिथि परेको, पुत्रदा एकादशी अर्थात् गौरे एकादशी र जनैपूर्णिमा पनि ७ गते पछि परेकाले गौरा पर्व भाद्र कृष्णाष्टमी अर्थात् भदौ २१ गते मान्नुपर्ने तर्क अगाडि सारिएको छ । पञ्चाङ्ग निर्णयक समितिले चित्त बुझ्ने काम गरेन । तिथि र चन्द्रमानको हिसाबले साउनमा मनाउनु भन्ने छैन ।
झापामा १९ गते, काठमाडौँमा २० गते र सुप प्रदेशमा २१ गते अगस्त्यको उदय हुने र गौरा सुप प्रदेशको मौलिक चाड भएकाले यहाँको समय मौलिकता हेरेर २१ गते गौरा मनाउनु पर्ने ज्योतिष मनिराज जोशी बताउनुहुन्छ ।
स्थानीय चाडपर्वका तिथिमिति निर्धारण गर्दा स्थानीय अक्षांश र देशान्तर अनुसार गणितीय हिसाब गर्नुपर्ने ज्योतिष मनिराज जोशीको भनाइ छ । विगतको स्थापित नजिर र निर्णयसिन्धु तथा धर्मसिन्धुलगायतका ग्रन्थका आधारमा सुदूरपश्चिममा २१ गते नै गौरा पर्व मान्नुपर्ने ज्योतिषी हरिशङ्कर अवस्थीको भनाइ छ । उहाँका अनुसार अगस्त्य अगस्त ऋषिको नामाङ्कित एक तारा हो । यो तारा भदौ २१ गते बिहान उदय हुने हो । अगस्त्य उदय भएको दिन दुर्वाष्टमी पूजा गर्न मिल्छ । त्यसको दोस्रो दिन मिल्दैन ।
२१ गते गौरा ल्याएर त्यसै दिन दुर्वाष्टमी पूजा गर्नुपर्ने निर्णयसिन्धुमा उल्लेख छ । २२ गते पूजा दुर्वाष्टमी नगर्नु भनेको छ । यो वर्ष अधिक मास परेकाले भदौ ७ र २१ मध्ये कुन दिन गौरा पर्व हो भनेर सुदूरपश्चिममा वादविवाद चुलिएको हो । ज्योतिषीहरूका बिचमा देखिएको मतभेदले यो वर्ष केही स्थानमा भदौ ७ र केही स्थानमा भदौ २१ गते गौरा पर्व मनाइने तयारी भएको छ । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी वर्षा ऋतुको भदौमा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको पाइन्छ । गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तितेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्राएर व्रतालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको छ ।