• ११ असोज २०८१, शुक्रबार

नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न भुटानले माग्यो अनुमति

blog

काठमाडौँ, साउन १७ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भर्दै आएको भुटानले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानको अनुमति मागेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भुटान नागरिक उड्डयन प्राधिकरण (भुटान सिएए) ले भैरहवा र पोखरामा सिधा उडानका लागि शुक्रबार पत्र पठाएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपालका दुई सुविधासम्पन्न विमानस्थलमा सिधा उडानका लागि भुटानले अनुमति मागेको छ । ड्रयुक एयर र भुटान एयरले सिधा उडान गर्ने गरी मागेको अनुमति प्रक्रिया पूरा भएपछि तालिका सार्वजनिक गरिने छ ।” भुटान सरकारले तोकेका दुई वायुसेवालाई अनुमति दिने प्रक्रियापछि कुन सहरमा कुन बार उडान हुने भन्ने उडान तालिका सार्वजनिक हुने उहाँले बताउनुभयो ।

उहाँले भुटानबाट पूर्वी इलामको आकाश हुँदै गल्फ–३४८ हवाई मार्गमार्फत काठमाडौँ आइरहेका जहाजले यही हवाई मार्ग हुँदै पोखरा र भैरहवा उडान गर्न सक्ने भएकाले हवाई मार्गको समस्या नरहने बताउनुभयो । हाल ड्रयुक एयरले सातामा चार र भुटान एयरले सातामा दुई वटा काठमाडौँमा उडान गर्दै आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आएका अन्य हवाई कम्पनीलाई समेत भैरहवा र पोखरामा उडानका लागि प्राधिकरणले पत्र पठाएको जानकारी दिँदै प्राधिकरणका प्रवक्ता निरौलाले म्यानमार र थाइल्यान्डबाट पनि चाँडै अनुमतिपत्र आउने अपेक्षा गरिएको बताउनुभयो ।

भैरहवा र पोखरामा भुटानबाट सिधा उडान सञ्चालनमा आएपछि ठूलो सङ्ख्यामा बौद्धमार्गी पर्यटकसँगै अन्य मुलुकका पर्यटकसमेत लाभान्वित हुने नेपाललाई प्राप्त पत्रमा उल्लेख छ । गत वर्ष जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा हाल नेपाल वायुसेवा निगमले मलेसियाबाट एकतर्फी साताको तीन वटा उडान गर्दै आएको छ । विमानस्थल सञ्चालनमा आएसँगै कुवेतबाट जजिरा एयरलाइन्सले उडान सञ्चालनमा ल्याए पनि हाल उडान स्थगित गरेको छ । गत पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि विदेशी वायुसेवाले नियमित उडान प्रक्रियामा आएका छैनन् ।