• २१ वैशाख २०८१, शुक्रबार

उपराष्ट्रपति यादवद्वारा मधेसलाई सुख्खाग्रस्तक्षेत्र घोषणा गर्न आग्रह

blog

मटिहानी–७ स्थित तस्मैया बाबा पार्कमा जडान गरिएको ११० फिट अग्लो राष्ट्रिय झण्डाको उद्घाटन समारोह । तस्बिर : महेशकुमार दास

महेशकुमार दास/नागेन्द्र कुमार कर्ण 

जलेश्वर, साउन १६ गते। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न सङ्घ र प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ। महोत्तरीको मटिहानी नगरपालिकामा आयोजित राष्ट्रिय झण्डाको समुद्घाटन तथा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपति यादवले मधेश प्रदेशको जनता तथा किसानप्रति संवेदनशील भएर कामकाज गर्न र यस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न निर्देशन दिनुभएको हो। उहाँले भन्नुभयो, “मटिहानी आउनेक्रममा सडक छेउदेखि आँखाले ठम्याउनेसम्मका खेतहरूको अवस्था एकदमै दयनीय रहेको पाएँ, जताततै सुख्खा नै सुख्खा देखेँ ।” 

सिँचाइको समस्या छदैछदा सुख्खाको समस्या पनि मधेस प्रदेश भरिनै थपिएको र यसले गर्दा पिउने पानीकोसमेत समस्या विकराल देखिएको बताउनुहुँदै यसप्रति संवेदनशील हुन सङ्घ र प्रदेश सरकारलाई निर्देशन दिनुभयो।उपराष्ट्रपति यादवले मटिहानी नगरपालिकाले राष्ट्रियताको परिचय दिँदै सम्भवतः देशकै सबभन्दा ठुलो ११० फिटको अग्लो नेपालको झण्डा जडान गरेको र सो झण्डाको समुद्घाटन गर्न पाउँदा आफू हर्षित भएको बताउनुभयो। उहाँले भन्नुभयो, “नेपालमै पहिचान, सम्मान र राष्ट्रियतासँग जोडिएको राष्ट्रिय झण्डालाई अबका दिनमा हेरविचार गर्न मटिहानी नगरपालिका र मटिहानीबासीलाई आग्रह गर्दछु ।”

नागरिक अभिनन्दन कार्यक्रममा सरिक हुनुभएको मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले मधेश प्रदेशका जनप्रतिनिधिलाई जनतालाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभयो।उहाँले विकासको काम गर्दा जनतालाई केन्द्रमा राखेर काम गर्दा विकास दीर्घकालीन हुने बताउनुहुँदै ऐतिहासिक, धार्मिक नगरी मटिहानीको विकासले शिर सधैँ उच्चो बनाएको बताउनुभयो ।

आफू यसैक्षेत्रबाट विगतमा सांसदमा विजयी भएको सम्झना गर्नुहुँदै प्रदेश प्रमुख मिश्रले भन्नुभयो, “मटिहानी नगरपालिकाको अहिलेको विकास हेर्दा मन प्रफुल्लित हुन्छ र मधेश प्रदेशका सम्पूर्ण जनप्रतिनिधिलाई यहाँको विकासबाट सिक्न आग्रह गर्दछु ।’’ 

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले यो सरकार जनताको भएको बत्ताउनुहुँदै जनताको सवालप्रति सरकार सदैव संवेदनशील भएको उल्लेख गर्नुभयो।

उहाँले यसक्षेत्रमा खानेपानी र पशुमा लाग्ने लम्पी स्किनको समस्या विकराल देखिएको बताउनु हुँदै पशुमा लाग्ने स्वास्थ्य समस्याको लागि भ्याक्सिन उपलब्ध गराइसकेको जानकारी दिनुभयो।उहाँले विगतमा यसक्षेत्रमा सिँचाइको समस्या भए पनि अहिले झन् खानेपानीको समस्या थपिएको बताउनुहुँदै यसको लागि सङ्घीय सरकारसँग छलफल गरिसकेको बताउनुभयो।

अहिले मधेश प्रदेशको जिल्लामा रहेको प्रमुख जिल्ला अधिकारीमार्फत समस्याको बारेमा जानकारी लिएर सोही अनुसार समस्या समाधानको पहलकदमी भइरहेको बताउनुभयो।

उहाँले निकट भविष्यमा नै प्रदेश सरकारले जनताको समस्या सम्बोधनको लागि निःशुल्क हटलाइनको व्यवस्थापन गरिने बताउनुहुँदै यसले जनताको समस्या सम्बोधनमा सहज हुने जानकारी गराउनुभयो।कार्यक्रममा अधिकांश वक्ताहरूले मटिहानी संस्कृत शिक्षा र संस्कृतिको केन्द्र भएकोले बनारसजस्तो बनाउन तथा यहाँ सांस्कृतिक विश्वविद्यालय स्थापनाको लागि उपराष्ट्रपतिलाई आग्रह गर्नुभएको थियो।

कार्यक्रममा मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मी, श्रम तथा यातायातमन्त्री चन्दनकुमार सिंह, विना विभागीय मन्त्री सुरिता साह, पूर्व सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेशसभा सदस्य शारदा थापा, पूर्वमन्त्री हरिनारायण यादव, पूर्व मुख्यन्यायधीवक्ता दिपेन्द्र झा, जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनार, महोत्तरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष विजयकुमार साह लगायतकाले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो।मटिहानी आउनुभएका उपराष्ट्रपति यादवलाई मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले स्वागत गर्नुभएको थियो।उहाँले लक्ष्मीनारायणको पूजापाठ, आरती तथा नेपालकै पहिलो विद्यालय राजकीय संस्कृत माध्यमिक विद्यालयको अवलोकन गर्नुभएको छ।


उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई नागरिक अभिनन्दन हुँदै। तस्बिर : महेशकुमार दास