• २३ पुस २०८१, मङ्गलबार

बाँकेमा छोटी भन्सार नहुँदा राजस्व सङ्कलन घट्यो

blog

लमो समयदेखि बन्द भएपछि जिर्ण बनेको नरैनापुरको छोटी भन्सार । तस्बिर : सिराज खान

सिराज खान
नेपालगञ्ज, साउन १६ गते ।
बाँकेस्थित नेपाल–भारत मुख्य नाकामा रहेको नेपालगञ्ज भन्सार कार्यालयले गत केही वर्ष यता राजस्व सङ्कलनको लक्ष्य भेटाउन सकेको छैन । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार केही वर्ष यता हरेक वर्ष निर्धारण गरिएको लक्ष्यभन्दा कम राजस्व सङ्कलन भइरहेको छ ।

भन्सार कार्यालयका अनुसार राजस्व सङ्कलन घट्नुको एक प्रमुख कारण शसस्त्र द्वन्द्वका बेला बन्द गरिएका बाँके जिल्लाका छोटी भन्सार कार्यालय अझै पुनर्स्थापना नहुनु पनि हो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले छोटी भन्सार नहुँदा राजस्व चुहावट लामो समयदेखि हुँदै आएकाले पनि राजस्व सङ्कलन प्रभावित हुँदै गएको बताउनुभयो ।

उहाँले विगतमा छोटी भन्सार रहेका विभिन्न नाकाहरु अहिले तस्करीको केन्द्र बनेको पनि बताउनुभयो । 

नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत डिल्लुप्रसाद शर्माका अनुसार बाँकेको सुइया बगौडास्थित कटकुइया, नरैनापुर, भगवानपुर, खडैचा होलिया, हिरमिनियाको भघोटना, साई गाउँ र साइगाउँ पश्चिमतर्फको उढरापुर नाकामा छोटी भन्सार कार्यालयहरु थिए । तर लामो समयदेखि ती सबै छोटी भन्सार कार्यालय बन्द  छन् ।

नरैनापुर, खडैचा, साई गाउँमा छोटी भन्सार रहेका भवन अहिले भत्किएर काम नलाग्ने अवस्थामा पुगेको भन्सार कार्यालयले जनाएको छ ।

विभिन्न ग्रामीण क्षेत्रको बाटोबाट भित्रिने मालसामानको भन्सार गर्ने छोटी भन्सार पुनर्स्थापना नगरिँदा भारतसँग सीमा जोडिएका ग्रामीण क्षेत्रबाट खुलेआम तस्करी हुने गरेको स्थानीयको भनाइ छ ।

नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत शर्माले आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्यभन्दा १२ प्रतिशत कम राजस्व सङ्कलन भएको जानकारी दिनुहुँदै आर्थिक वर्ष २०७९–०८० मा ३८ प्रतिशत कम राजस्व सङ्कलन भएको बताउनुभयो ।

उहाँले राजस्व सङ्कलनको लक्ष्य पूरा नहुनुमा धेरै कारणहरु रहेकोमा एक प्रमुख कारण छोटी भन्सार नहुनु वा ग्रामीण क्षेत्रबाट राजस्व छलेर सामान भित्रिनु पनि रहेको बताउनुभयो ।