• १२ मंसिर २०८१, बुधबार

म्याग्दीमा बढ्दै डेंगु र स्क्रब टाइफस

blog

अमृतप्रसाद पौडेल
साउन १६ गते । 
हिमाली जिल्ला म्याग्दीमा पछिल्ला वर्षहरूमा डेंगु तथा स्क्रब टाइफसको बिरामीको सङ्ख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षको तथ्याङ्क हेर्दा परजीवीको टोकाइबाट लाग्ने रोगका बिरामीको सङ्ख्या बढेको हो ।

सन् २०१९ देखि २०२३ सम्मको अवधिमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगका बिरामी ३१७ पुगेका छन् भने मुसामा हुने किर्नाको टोकाइबाट लाग्ने स्क्रब टाइफसका बिरामीको सङ्ख्या ११९ पुगेको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

उहाँका अनुसार डेंगुका बिरामी सन् २०१९ मा ११ जना, २०२० मा ९९ जना, २०२१ मा ६८, २०२२ मा ८१ जना भेटिएकोमा सन् २०२३ को पहिलो सात महिनाको अवधिमै ५८ जनामा डेंगु सङ्क्रमण भएको छ ।

चालु वर्ष सन् २०२३ को सुरुको सात महिनाको अवधिमै झण्डै ६० जना बिरामी भेटिएकाले सन् २०२२ भन्दा बिरामीको सङ्ख्या बढ्न सक्ने निमित्त प्रमुख लम्सालको भनाइ छ ।

यसैगरी, स्क्रब टाइफसको बिरामीको सङ्ख्या पनि गत वर्षको भन्दा बढ्ने सङ्केत देखिएको जानकारी उहाँले दिनुभयो ।

मुसामा हुने किर्ना जस्तै परजीवीको टोकाइबाट सर्ने यो रोगका बिरामी सन् २०२० मा ६१ जनामा देखिएका थिए । त्यसपछि सन् २०२१ मा २५ जना, २०२२ मा १९ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने सन् २०२३ को जुलाई महिनासम्ममा १४ जनामा सङ्क्रमण पुष्टि भई सकेको छ ।

निमित्त प्रमुख लम्सालले लामखुट्टेको टोकाइबाट सर्ने डेंगु र किर्नाको टोकाइबाट लाग्ने स्क्रब टाइफसको बिरामीको सङ्ख्या सन् २०२३ मा विगतको वर्षभन्दा बढ्ने सङ्केत देखिएको बताउनुभयो । 

मुख्य रूपमा सरसफाइमा ध्यान दिएको खण्डमा यी दुवै रोगबाट बच्न सकिने लम्सालको भनाइ छ । डेंगु सार्ने लामखुट्टेले सफा पानीमा अण्डा पार्ने भएकाले हरेक दिन पानी फेर्ने र पानी जम्ने खाल्डाखुल्डीहरू पुर्नुका साथै झाडी सफा गरेमा यो रोगको सङ्क्रमण न्यूनीकरण गर्न सकिने उहाँले बताउनुभयो ।