राधाकृष्ण डुम्रे
वालिङ, साउन १६ गते । स्याङ्जामा भएको छुट्टाछुट्टै दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको मालुङ्गामा कार दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् । बुटवलबाट पोखरा जाँदै गरेको ग २ च २१७४ नम्बरको कार सिद्धार्थ राजमार्गबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी कारमा सवार कास्कीको पोखरा महानगरपालिका वडा नं. ११ बस्ने ४३ बर्षीय सुमन गुरुङ, वडा नं ३० बस्ने २८ वर्षीय उत्तम भण्डारी र पोखरा कै वडा नं. ५ बस्ने ३५ वर्षीय सन्दीप थकाली घाइते भएका छन् ।
घाइते तीनै जनालाई गल्याङ नगर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि मनिपाल शिक्षण अस्पताल पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।
यस्तै वालिङमा स्कुटरको ठक्करबाट दुई जना घाइते भएका छन् । स्याङ्जा वालिङ ८ कटहरबोटस्थित भित्री सडक खण्डमा वालिङबाट भुम्रे तर्फ जाँदै गरेको ग ११ प ८३९६ नं. को स्कुटरले स्थानीय २८ वर्षीय एलिसा थापालाई ठक्कर दिएको हो । दुर्घटनामा परि थापाकी ११ महिनाकी छोरी विरिता थापा पनि घाइते हुनुभएको छ । घाइते आमाछोरीको वालिङ प्राथमिक अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि पोखरा पठाइएको प्रवक्ता खनालले जानकारी दिनुभयो । आमाको अवस्था सामान्य रहेको उहाँको भनाइ छ ।
स्कुटर चालक भिरकोट नगरपालिका ५ का २९ वर्षीय राम सेन र स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।