• १२ साउन २०८१, शनिबार

ट्रायल परीक्षामा ७० अङ्क ल्याए पास

नयाँ व्यवस्थाले लाइसेन्स लिने बढे

blog

काठमाडौँ, साउन १६ गते । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षामा ७० अङ्क ल्याए उत्तीर्ण हुने व्यवस्था लागु भएपछि उत्तीर्ण हुनेको सङ्ख्या करिब ५० प्रतिशतले वृद्धि भएको छ । मोटरसाइकलमा एक सय पूर्णाङ्कमा शतप्रतिशत नै अङ्क ल्याउनुपर्ने व्यवस्था हुँदा ४० प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण हुन्थे भने हाल ७० अङ्क मात्र ल्याए उत्तीर्ण हुने व्यवस्थामा ८० प्रतिशत उत्तीर्ण भएका छन् । 

यातायात व्यवस्था कार्यालय एकान्तकुनाका अनुसार चारपाङ्ग्रे सवारीसाधनको लाइसेन्स परीक्षामा पहिला १० देखि १५ प्रतिशत मात्र उत्तीर्ण हुन्थे । हाल ३० देखि ३५ प्रतिशतसम्म उत्तीर्ण भएका छन् । पुरानो परीक्षा प्रणालीमा हरेक आइतबार आठ सयको सङ्ख्यामा सेवाग्राही हुन्थे भने हाल झन्डै ५० प्रतिशतले घटेको छ । अन्य बारमा पहिला पाँचदेखि छ सयसम्म हुन्थ्यो भने अहिले दुईदेखि तीन सयसम्मको सङ्ख्यामा सेवाग्राही आएका छन् ।

कार्यालयका निमित्त प्रमुख राजकुमार कपालीले भन्नुभयो, “अहिले पास गर्नेको सङ्ख्या झन्डै ४० देखि ५० प्रतिशतले बढेको छ । पास धेरै भएर फाराम भर्नेको सङ्ख्या घटेको छ । सेवा प्रवाहमा धेरै सहज भएको छ । सेवाग्राहीलाई पनि धेरै सजिलो भएको देखिन्छ ।”

यातायात व्यवस्था विभागले पनि ७० अङ्क ल्याएपछि उत्तीर्ण हुने व्यवस्थाले सेवाग्राही बढेको जनाएको छ । पहिलो एक सय अङ्क नै ल्याउनुपर्ने व्यवस्थाले विभागमा लाइसेन्स प्रिन्ट गर्नेको सङ्ख्या कम हुने गरेकोमा अचेल उक्त सङ्ख्या बढेको छ । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले भन्नुभयो, “अहिले देशभरबाट दैनिक छ/सात हजारको हाराहारीमा सेवाग्राही हुनुहुन्छ । पहिलाको अनुपातमा यो सङ्ख्या बढेको हो ।”  

श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमतीले ट्रायल परीक्षामा नयाँ व्यवस्था गत फागुन २ गतेदेखि लागु गरेको थियो । अन्य प्रदेशमा पहिले नै लागू भइसकेको थियो ।   

बागमती प्रदेश मन्त्रालयले चार वटा कार्यालय ठूलोभ-याङ, एकान्तकुना, चाबहिल र हेटौँडा कार्यालयबाट एकैसाथ लागु गरेको थियो । कार, स्कुटर र मोटरसाइकलको लाइसेन्सका लागि मात्र नयाँ व्यवस्था लागु गरिएको छ ।  नयाँ व्यवस्था अनुसार अङ्ग्रेजी आठ अक्षर अङ्कित घुमाउरोमा एक पटकसम्म रेखा छोएमा अनुत्तीर्ण हुँदैन तर पाँच अङ्क घट्छ । 

एक पटक खुट्टाले भुइँमा टेके पनि अनुत्तीर्ण हुनु पर्दैन तर थप पाँच अङ्क घट्छ । युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबाले १० अङ्क घट्छ । ट्राफिक सङ्केत पालना नगर्दा १५ अङ्क घट्छ तर सबैमा अङ्क घट्दै गएर ७० भन्दा कम भयो भने लाइसेन्स पाउन योग्य मानिँदैन ।    

त्यस्तै उबडखाबडमा एक पटकसम्म भुइँमा टेकेमा पाँच अङ्क घट्छ । एक पटक सवारीको स्टार्ट बन्द भए पाँच अङ्क घट्छ । सवारी चलाउनु अगाडि सवारीको ब्रेक, टायर र ऐनाको सामान्य निरीक्षण नगरे तीन अङ्क घट्छ । हेलमेटको लक नलगाई सवारी चलाएमा चार अङ्क घट्छ । विगतमा भने यी व्यवस्थामध्ये कुनै एउटा गल्ती गरे अनुत्तीर्ण हुने अवस्था थियो ।