• ११ मंसिर २०८१, मङ्गलबार

नेदरल्याण्ड पठाइने भनेर ४४ लाख ५० हजार ठगी गर्ने पक्राउ

blog

पक्राउ परेको ३७ वर्षीय कपिल बर्मा । तस्बिर : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय

काठमाडौं, साउन १५ गते । नेदरल्याण्डमा वैदेशिक रोजगारीमा पठाइदिने भनेर पीडितहरूबाट ४४ लाख ५० हजार रुपियाँ ठगी गर्ने ३७ वर्षीय कपिल बर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार स्थायी घर महोत्तरीको जलेश्वर नगरपालिका–१३ का बर्माले नेदरल्याण्ड पठाइदिन्छु भनेर विक्रम कार्कीसहित छ जनासँग प्रतिव्यक्ति १२ लाख रुपियाँ लिएर सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको हो ।

प्रवक्ता रेग्मीले बर्माले पीडितहरूलाई नेदरल्याण्डमा प्रतिष्ठित सुपरमार्केट कम्पनीमा स्टोरकिपरको काम लगाइदिने र मासिक दुई लाख रुपियाँभन्दा बढी तलब हुने भनेर प्रलोभनमा पार्ने गरेको जानकारी दिनुभयो ।

प्रहरीले उनलाई सोमबार काठमाडौँको मण्डिखाटारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहचलमा पठाएको छ ।