कमल शर्मा
दैलेख, साउन १५ गते । जिल्ला कारागार दैलेखमा पुस्तकालय स्थापना गरिएको छ । जिल्ला कारागार दैलेखमा कैद जीवन बिताइरहेका कैदीबन्दीलाई सहज रुपमा अध्ययन अध्यापन गर्न उक्त पुस्तकालय स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखको जिल्लाका विभिन्न उद्योगी, व्यवसायी र नागरिक समाजको सहयोगमा सङ्कलन भएका दुई सय थान पुस्तक कैदीबन्दीलाई हस्तान्तरण गरी कारागारमा स्थापना गरिएको पुस्तकालयको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले कारागारमा विभिन्न कथा, उपन्यास, निबन्ध, धार्मिक ग्रन्थ, सामान्य ज्ञानका पुस्तकहरु राखिएको जानकारी दिनुभयो । उहाँले कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरु गरेको कारागारमा पुस्तकालय स्थापना गर्ने नीति अनुरुप उक्त पुस्तकालय स्थापना गरिएको जानकारी दिनुभयो ।
कर्णालीका १० वटै जिल्ला कारागारमा एकसाथ पुस्तकालय स्थापना गर्ने उद्देश्यले मदन पुरस्कार विजेता तत्कालीन प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) महेशविक्रम शाहले उक्त अभियानको सुरुवात गर्नुभएको थियो । प्रहरी प्रमुख लम्सालले तत्कालीन समयमा सुरु गरिएको र बीचमा रोकिएको कारागारमा पुस्तकालय स्थापना अभियान पुन सुचारु भएपछि दुई सय थान पुस्तक सङ्कलन गरी पुस्तकालय स्थापना गरिएको र थप पुस्तकका लागि सङ्कलन अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।