• १ जेठ २०८२, बिहिबार

अस्पतालमा निरीक्षण

blog

लमजुङ समाचारदाता

लमजुङ, जेठ १ गते । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले सदरमुकाम बँेसीसहरस्थित प्रदेश अस्पताल लमजुङको बुधबार आकस्मिक अनुगमन तथा निरीक्षण गर्नुभएको छ । 

अस्पताल प्रशासन र स्वास्थ्यकर्मीलाई कुनै जानकारी नदिई अस्पताल पुगेका मन्त्री पाठकले बिरामी र बिरामीका आफन्तसँग उपचार सेवा, समस्या र सुधार गर्नुपर्ने पक्षका बारेमा जानकारी लिनुभएको हो । मन्त्री पाठकले बिरामी तथा बिरामी कुरुवासँग चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले बिरामीलाई दिने सेवा र व्यवहारबारे समेत जानकारी लिनुभएको थियो । मन्त्री पाठकले बिरामीलाई स्वास्थ्यमा भएको सुधारबारे समेत जिज्ञासा राख्नुभएको थियो ।

मन्त्री पाठकले जिम्मेवारीमा रहेका चिकित्सक, कर्मचारी खटिए÷नखटिएको, स्वास्थ्यकर्मीले बिरामीसँग गर्ने व्यवहार, फार्मेसीमा औषधीको व्यवस्था भए÷नभएको विषयमा जिज्ञासा राख्नुभयो । मन्त्री पाठकले टिकट काट्न लाइन बसेकासँग समेत भेट गरी कुराकानी गर्नुभएको थियो । स्वास्थ्यमन्त्री पाठकले वार्ड, इमरजेन्सी, आइसियु, बालबालिका कक्षको निरीक्षण गर्नुका साथै चिकित्सक र स्वास्थ्यकर्मीसँग समेत बिरामीको अवस्थाबारे जानकारी लिनुभएको थियो । 

मन्त्री पाठकले स्वास्थ्यकर्मी र चिकित्सकलाई सेवाग्राहीका गुनासा कम आउने गरी थप व्यवस्थित गरेर काम गर्न निर्देशनसमेत दिनुभयो । मन्त्री पाठकले सञ्चारकर्मीसँग कुरा गर्दै अस्पतालले दिएका सेवासुविधालाई अझै व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।