• १४ मंसिर २०८१, शुक्रबार

कर वृद्धिविरुद्ध स्थानीय आन्दोलित

blog

नवलपरासी समाचारदाता 

देवचुली, साउन १५ गते । स्थानीय तहले करमा भारी वृद्धि गर्न थालेपछि स्थानीय आन्दोलित भएका छन् । देवचुली नगरपालिकाको राजस्व परामर्श समितिले एक सय प्रतिशतदेखि एक हजार २५० प्रतिशतसम्म करमा वृद्धि गरेको हो। 

देवचुलीका समाजसेवी डिल्लीराम कडरियाले देवचुली नगरपालिकाका जनताका लागि भएको भारी कर वृद्धिका विरुद्ध स्थानीय आन्दोलित हुनु परेको बताउनुभयो। 

आर्थिक वर्ष २०७९/८० मा एउटा किराना पसल खोल्न एक हजार रुपियाँ कर लिने नगरपालिकाले अहिले सात हजार रुपियाँ कर लिने निर्णय गरेको छ । स्थानीय समाजसेवी अशोक बस्ताकोटीले फर्म दर्ता गर्दा कर एक सय प्रतिशतदेखि एक हजार दुई सय पचास प्रतिशतसम्म तोकेपछि स्थानीयले नगरपालिकामा तालाबन्दी नै गरी आन्दोलनमा उत्रिएको बताउनुभयो। 

देवचुली उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष धर्मराज बस्यालले कर नघटेसम्म कुनै पनि किसिमको कर नबुझाउन र आन्दोलनमा सक्रिय रूपमा लाग्न अनुरोध गर्नुभयो ।  दलदलेका सरोज आचार्यले नगरपालिकाले हालैको नगर परिषद्मा कुनै सदस्यलाई थाहा नै नदिई नगर प्रमुख र उपप्रमुखले करको दायरा अत्यधिक बढाएको आरोप लगाउनुभयो। 

नगरपालिकाले सिफारिस लिन दस्तुरमा एक हजार प्रतिशतसम्म बढाएको छ भने मदिरा उद्योग सञ्चालन र नवीकरण गर्न एक हजार २५० प्रतिशतसम्म कर बढाएको छ। यसै गरी डिपार्टमेन्ट स्टोर खोल्न यसअघि १७ हजार राजस्व तिर्नुपर्नेमा अहिले ७० हजार तिर्नुपर्ने गरी वृद्धि गरेको छ। 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन मरासिनीले नगरपालिकाले वार्ताद्वारा समस्याको समाधान गर्न आग्रह गरेको र तत्काल बढेको कर नतिर्न र पुरानै दरमा कर दाखिला गर्न अनुरोध गरेको बताउनुभयो।