राधाकृष्ण डुम्रे
वालिङ, साउन १५ गते । स्याङ्जाका ग्रामीण सडक सानो पानी पर्दा पनि अवरुद्ध हुने गरेका छन्। प्रभावकारी योजना नबनाई खनिएका ग्रामीण सडक सामान्य वर्षामा पनि अस्तव्यस्त हुने गरेका हुन्।
नयाँ सडकका कारण पुराना र राम्रोसँग चल्दै आएका सडकसमेत अवरुद्ध भएका छन्। नयाँ सडकका कारण स्याङ्जा र पर्वतको दक्षिणी भेग जोड्ने ग्रामीण सडक बेला बेलामा अवरुद्ध हुन जान्छ।
स्याङ्जाको वालिङ नगरपालिका–१४ अन्तर्गत डुम्रे भन्ज्याङबाट कपासे गाउँ जानका लागि खनिएको नयाँ सडकका कारण वर्षौ पुरानो र नियमित सवारीसाधन चल्न सक्ने सडकसमेत अवरुद्ध हुन्छ। ग्रामीण सडक निर्माण र विस्तार गर्दा अपनाइनुपर्ने न्यूनतम विधिको समेत पालना नगरिँदा समस्या आएको स्थानीय बताउँछन्।
नयाँ सडकको ट्र्याक खन्दा कम क्षति हुने ठाउँ रोज्नुपर्नेमा त्यसतर्फ ध्यान नदिइएको डुम्रे भन्ज्याङका स्थानीयवासीको भनाइ छ। विकासले विनाशसँगै जोखिम पनि बढाएको उनीहरूको गुनासो छ।
वालिङ–१४ का वडाध्यक्ष बोधराज कुँवर (राजु) ले विकट कपासे गाउँमा सडक पु-याउनका लागि डुम्रे भन्ज्याङबाट सडक खनिएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले त्यति बेला पनि स्याङ्जा–पर्वत जोड्ने सडकलाई समस्या नहुने गरी काम गर्न भनेका थियौँ तर वर्षा र गग्रेटो माटो भएका कारण सामान्य वर्षामा पनि समस्या आएको छ।”
सङ्घीय सरकार, सहरी विकास मन्त्रालयको एक करोडको लागतमा खनिएको सडकले स्याङ्जा र पर्वत जोड्ने सडकलाई अस्तव्यस्त बनाएको हो।
वालिङ–१४ को कपासेसम्म सडक पु-याउनका लागि अझै तीन सय मिटर सडक खन्न बाँकी रहेको वडाध्यक्ष कुँवरले बताउनुभयो। उक्त गाउँमा ८५ घरपरिवार बसोबास गर्दै आइरहेका छन्।