• ४ जेठ २०८१, शुक्रबार

बाह्रबिसे सबस्टेसन तत्काल बन्नै पर्छ : घिसिङ

blog

काठमाडौँ, साउन १५ गते । सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको निर्माण तीन महिनाभित्र सम्पन्न नभए मध्य भोटेकोसी जलविद्युत् आयोजनाको १०२ मेगावाट विद्युत् खेर जाने अवस्था आएको छ । 

चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणको अन्तिम चरणमा पुगेको सो जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा ल्याउन बाह्रबिसे सबस्टेसन बन्नैपर्ने भएको हो । मध्य भोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिने छ । मध्य भोेटेकोशीको निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणको काम भइरहेको छ । 

बाह्रबिसे सबस्टेसन निर्माणको ठेक्का पाएका चिनियाँ कम्पनीहरू ग्वाङ्सी ट्रान्समिसन एन्ड सबस्टेसन कन्स्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादनका कारण सबस्टेसनको निर्माण ढिलाइ हुँदै आएको छ । 

प्राधिकरणले कार्यसम्पादन सुधार्न पटक पटक दिएको निर्देशन निर्माण व्यवयासीले पालना नगर्दा सबस्टेसन निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको प्राधिकरणले जनाएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, आयोजना व्यववस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले शनिबार सबस्टेसन निर्माण स्थलको अनुगमन भ्रमण गरेको थियो । 

अनुगमनका क्रममा कार्यकारी निर्देशक घिसिङले गत फागुनपछि निर्माण व्यवसायीले आफ्नो कार्यसम्पादनमा केही सुधार गरेको देखिएको बताउनुभयो । “पावर ट्रान्सफर्मरलगायतका सबस्टेसनमा राखिने उपकरण निर्माण स्थलमा आइसकेका छन्, निर्माणमा ढिलाइ गर्नुपर्ने कुनै कारण छैन, निर्माणमा हाम्रोतर्फबाट सहजीकरण गर्न तयार छौँ,” उहाँले भन्नुभयो, “तीन महिनाभित्रमा जसरी पनि निर्माण सम्पन्न गर्नु पर्छ अन्यथा मध्य भोटेकोशीको विद्युत् खेर जान्छ ।” 

प्राधिकरणले मध्य भोटेकोशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरेको छ तर त्यसका लागि पनि बाह्रबिसे सबस्टेसनको निर्माण अनिवार्य छ । २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत् आयोजनाको प्रवर्धक कम्पनी  शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनलाई डबल बनाउन लागिएको छ । शिवश्री हाइड्रोपावरले लामोसाँघु सबस्टेसनबाट बाह्रबिसेसम्म बनाउनुपर्ने उक्त लाइनको कामसमेत सुरु हुन सकेको छैन । 

तामाकोशी तथा सुनकोशी नदी र ती नदीका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोशी–काठमाडौँ प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो । एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण भइरहेको छ ।