• १४ मंसिर २०८१, शुक्रबार

तालखोलामा अस्थायी पुल बन्ने

blog

पोखरा-३२ को तालखोलामा भत्किएको कल्भर्ट निरीक्षण गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रेशमकुमार जुग्जाली ।

फडिन्द्र अधिकारी 

पोखरा, साउन १४ गते । पोखरा महानगरपालिका वडा नं. ३२ को तालखोला अहिले उर्लिएको छ । खोला वारपार गर्न बनाइएको कल्भर्ट तीन वर्षअघि भत्किएपछि स्थानीय र विद्यार्थी ज्यान जोखिममा राखेर खोला तर्न बाध्य छन् । 

बडहरेका दुई सय घरधुरीका सदस्य र नजिकैको ब्रह्मरुपा माध्यमिक विद्यालयमा पढ्ने ६० भन्दा बढी विद्यार्थी कल्भर्ट नहुँदा सकसमा छन् । कल्भर्टको आधा भाग भत्किएर खोलामै खसेको छ । त्यहाँ राखिएको बाँस र काठमा टेकेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । 

हिउँदमा सहजै खोला तर्न सकिए पनि बर्खायाममा सकिँदैन । जोखिमपूर्ण कल्भर्टबाट खसे खोलाले बगाएर ज्यान जानसक्ने जोखिम रहेको वडाध्यक्ष अक्कलबहादुर कार्की सुनाउनुहुन्छ । आइतबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको टोलीले पुल निरीक्षण गरेको छ । मन्त्री रेशमकुमार जुग्जालीले त्यहाँ तत्कालै अस्थायी पुल बनाउन निर्देशन दिनुभएको छ । तालखोलामा १० दिनभित्रै अस्थायी फलामको पुल बनाउन पूर्वाधार विकास कार्यालय कास्कीलाई निर्देशन दिएको उल्लेख गर्नुभयो ।

पोखरा ३२ का अध्यक्ष कार्कीले वडा कार्यालय, महानगर र मन्त्रालयले समन्वय गरी तत्काल अस्थायी पुल बनाउने जनाउनुभयो । जोखिमपूर्ण रूपमा आवत जावत गर्नुपर्ने हटाउने सहमति गरेको जानकारी दिनुभयो । गत आर्थिक वर्ष पोखरा महानगरले पुल मर्मत गर्न बजेट व्यवस्थापन गरे पनि काम भएन । दीर्घकालीन रूपमै समस्या समाधानका लागि पक्की पुल बनाउन पहल गर्ने अध्यक्ष कार्कीको भनाइ छ ।