• १४ मंसिर २०८१, शुक्रबार

पोखरामा दुई हजार एक सय ५० मेट्रिकटन कृषि मल वितरणको लक्ष्य

blog

गण्डकी,  साउन १४ गते । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा महानगर क्षेत्रका किसानलाई नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मल दुई हजार एक सय ५० मेट्रिकटन वितरण गर्ने लक्ष्य राखेको छ ।

महानगरपालिकाभित्र मलको बिक्री वितरणका लागि ७० केन्द्र सूचीकृत गरिएको र अघिल्लो वर्षको खपत अवस्था हेरेर यस आवका लागि लक्ष्य निर्धारण गरिएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा पोखरामा युरिया, डिएसपी र पोटास गरेर एक हजार नौ सय ७७ दशमलव ६५ टन मल खपत भएको थियो । 

त्यसमध्ये युरिया एक हजार दुई सय २१ दशमलव ७५ टन खपत भएको थियो । त्यस्तै डिएसपी छ सय ६३ दशमलव ८५ टन, पोटास ३९ दशमलव ९५ टन र कृषि चुन दुई दशमलव एक टन खपत भएको थियो  । मलको डिपोदेखि बिक्री केन्द्रसम्मको दूरीका आधारमा २५ किमिसम्म युरिया प्रतिकिलो रु १९ दशमलव ४५ देखि  २१ रुपैयाँ पाँच पैसासम्म निर्धारण गरिएको छ । 

त्यस्तै डिएसपीको रु ४८ दशमलव ४५ देखि ५० रुपैयाँ पाँच पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ पाँच पैसासम्म तोकिएको कडरियाले जानकारी दिनुभयो । मल बिक्रेताले प्लास्टिक झोलाको मूल्य प्रतिकिलो थप रु दुईसम्म लिनसक्ने व्यवस्था गरिएको छ ।  रासस