• १५ चैत २०८०, बिहिबार

आन्तरिक आम्दानी चौसट्ठी करोड

blog

काँक्रेविहार समाचारदाता

सुर्खेत, साउन १४ गते । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा ६४ करोड ९५ लाख रुपियाँ आन्तरिक आम्दानी गरेको छ। तथापि सो आम्दानी आर्थिक वर्षको लक्ष्यभन्दा कम हो। 

प्रदेश सरकारले आर्थिक वृद्धिदर ५.४७ प्रतिशत हुने अनुमान गरेको थियो। ७१ करोड २९ लाख ७४ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य थियो। तर, लक्ष्यभन्दा छ करोड ३४ लाख ६५ हजार कम आम्दानी भएको छ। प्रदेश लेखा नियन्त्रकको कार्यालयको तथ्याङ्क अनुसार सरकारको वार्षिक आम्दानी ६४ करोड ९५ लाख रुपियाँ आम्दानी भएको छ। यो आम्दानी आव २०७८/७९ भन्दा तीन करोडले बढी देखिन्छ। उक्त आवमा सरकारले ६१ करोड ५८ लाख ७८ हजार आन्तरिक आम्दानी गरेको थियो।

कर्णाली सरकारले २२ शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ। त्यसमध्ये परीक्षा शुल्क, सवारीसाधन कर, यातायात कर, कृषि वस्तु बिक्रीलगायतका १७ वटा शीर्षकमा प्रदेश आफैँले राजस्व उठाउने गरेको छ। सवारीसाधन कर शीर्षकमा सबैभन्दा बढी १९ करोड ५५ लाख २४७ रुपियाँ राजस्व सङ्कलन भएको छ। यो आव २०७८/७९ को भन्दा न्यून हो। सो आर्थिक वर्षमा २२ करोडभन्दा बढी राजस्व सङ्कलन भएको थियो। यातायात क्षेत्रबाट ९५ लाख १२ हजार ५७८ रुपियाँ मात्र आम्दानी भएको जनाइएको छ। गत आर्थिक वर्षमा पर्यटन क्षेत्रबाट सरकारले जम्मा तीन लाख ३७ हजार दुई सय राजस्व सङ्कलन गरेको छ।

प्रदेशको अधिकार सवारी, मनोरञ्जन, विज्ञापन, घर जग्गा रजिस्ट्रेसन शुल्क हो। तर, कर्णालीमा मनोरञ्जन, विज्ञान शीर्षकमा राजस्व उठ्न सक्ने कुनै संरचना छैनन्। घर जग्गा शीर्षकमा पनि वीरेन्द्रनगर नगरपालिकाबाहेकका स्थानीय तहबाट खासै राजस्व सङ्कलन नभएको बताइन्छ। ढुङ्गा, गिट्टीबाट उठ्ने राजस्व पालिकाले प्रदेशलाई दिने गरेको छैन।

गत आर्थिक वर्ष परीक्षा शुल्क शीर्षकमा आम्दानी वृद्धि भएको देखिन्छ। त्यो भनेको प्रदेश लोक सेवा आयोगको विज्ञापनलगायतबाट हो। गत आर्थिक वर्ष उक्त शीर्षकमा पाँच करोड ८० लाख १२ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ। कृषि उत्पादनको बिक्रीबाट १८ लाख ८२ हजार ९९८ रुपियाँ मात्र आम्दानी गरेको प्रदेश सरकारले शिक्षा क्षेत्रको अन्य आम्दानी शीर्षकमा पाँच लाख पाँच सय आम्दानी गरेको छ।