• १२ मंसिर २०८१, बुधबार

गलफुलो समस्याले बालबालिका हैरान

blog

सांकेतिक तस्बिर

अविनाश चौधरी

धनगढी, साउन १३ गते। कैलालीमा गलफुलो (मम्प्स) समस्याले बालबालिका आक्रान्त बनेका छन्। पछिल्लो समय साना बालबालिकामा यो समस्या बढ्दो रूपमा देखा पर्न थालेको हो। आँखा पाक्ने भाइरलको प्रकोप बढेको बेला बालबालिकामा गलफुलोको समस्या पनि भयावह रूपमा देखा परिरहेको छ। यो समस्याले बालबालिकालाई हैरान बनाएको छ। गलफुलो समस्याका कारण बालबालिकाले धेरै दुःख पाइरहेको धनगढी उपमहानगरपालिका–८ का अप्सना चौधरीले बताउनुभयो। 

उहाँका अनुसार गलफुलो भएपछि बालबच्चाले चार/पाँच दिनसम्म खानेकुरा नै राम्ररी खान सक्दैनन्। “विद्यालयबाट आएपछि हाम्रो भाइलाई त्यही समस्या देखियो”, चौधरीले भन्नुभयो,“केही दिन दुखेर खानासमेत खान सकेन।” 

सुरुमा दाँत दुख्यो भनेर दुखाई महसुस गरेको आफ्नो भाइको पछि ज्वरोसमेत आएको उहाँले बताउनुभयो। गलफुलो समस्या बढी मात्रामा देखा पर्न थालेपछि निजी विद्यालयले निगरानी बढाएका छन्। गलफुलो भएका विद्यार्थीलाई सकेसम्म विद्यालय नआउन भन्ने गरेको शिक्षकहरूको भनाइ छ। 

स्वास्थ्यकर्मीका अनुसार गलफुलो भएमा ज्वरो आउने, थकान महसुस हुने, खान मन नलाग्ने र चपाउन नसक्ने, शरीर दुख्ने जस्ता लक्षण देखा पर्दछ। यसैगरी, गलफुलो समस्या भएमा एउटा वा दुवै गाला सुन्निने र दुख्ने गर्दछ। 

अहिले गलफुलोको समस्या अलि बढी नै देखा परिरहेको धनगढीमा कार्यरत वरिष्ठ फिजिसियन डा. शुभेषराज कायस्थले बताउनुभयो। “यो श्वासप्रश्वास वा ¥यालको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग हो”, उहाँले भन्नुभयो,“बिरामीको सम्पर्कमा आएका व्यक्तिमा यो रोग चाँडै सर्दछ।”

एक प्रकारको भाइरसबाट गलफुलो रोग लाग्ने गरेको जनाइएको छ। बिरामीमा देखिएको लक्षण अनुसार उपचार हुने गरेको डा. कायस्थले बताउनुभयो। उहाँले भन्नुभयो,“यसको ठ्याक्कै यही भन्ने उपचार छैन। लक्षण अनुसार उपचार हुन्छ।” यो रोगले कहिलेकाहीँ जटिल समस्या पनि उत्पन्न गर्ने गरेको जनाइएको छ। यसले पुरुषको अण्डकोष र महिलाको डिम्बासयमा असर गर्ने गरेको जनाइएको छ। गलफुलो भएमा यदि पुरुषको अण्डकोष र महिलाको तल्लो पेट दुखेमा तुरुन्त उपचार गराउनु पर्ने डा. कायस्थ बताउनुहुन्छ। 

“उपचार गरिएन भने यसले बाँझोपन ल्याउन सक्छ”, उहाँले भन्नुभयो,“बाँझोपनको एउटा प्रमुख कारण मम्प्स पनि हो।” यो रोग सबैजसो बालबालिकामा लाग्ने गरेको जनाइएको छ। तर, एकचोटी लागिसकेकालाई भने यसको सङ्क्रमण दोहोरो हुने सम्भावना निकै कम रहने गरेको डा. कायस्थको भनाइ छ। उहाँले कसैलाई गलफुलो समस्या भएमा अरूलाई सर्नबाट जोगाउनका लागि बिरामीलाई आइसोलेसनमा राख्न आवश्यक रहेको औँल्याउनुभयो। 

यसैगरी, बिरामीले प्रयोग गरेको सामान छुट्टै राख्ने र अरूले प्रयोग नगर्ने डा. कायस्थले उल्लेख गर्नुभयो। हाँच्छ्युँ गर्दा, खोक्दा सिँगानको छिटामार्फत पनि गलफुलो रोग नजिकको व्यक्तिमा सर्ने जोखिम रहने गरेको जनाइएको छ।