शेरबहादुर सार्की
बाजुरा, साउन ११ गते । जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने जगनाथ गाउँपालिकाका अवरुद्ध ग्रामीण सडक पुन सञ्चालनमा आएका छन् । गत साउनको पहिलो सातादेखि लगातार परेको अविरल वर्षाका कारण कर्णाली कोरिडोरसँग जोडिएको सिमल खोला सडकमा पहिरो गएपछि जगनाथ गाउँपालिकाको १ देखि ६ वडामा हिउँदमा सुचारु भएका सबै सडक अवरुद्ध भएको हो ।
गाउँपालिकाले कर्णाली कोडिडोर सडकले जोडिएको जगनाथको सिमल खोला सडकमा गएको ठुलो पहिरोलाई सफा गर्दैै आएपछि यतीबेला जगनाथ गाउँपालिकामा अवरुद्ध बनेका ती सबै ग्रामीण सडक पुनः सञ्चालनमा आएकाे हाे। जगनाथ गाउँपालिका वडा नं-५ का स्थानीय दुर्गा बुढाले, साउनको पहिलो सातादेखि लगातार परेको पानीले ग्रामीण सडक बिग्रिएपछि आउजाउमा समस्या भएको बताउनुभयो । उहाँले भनुभयो, “अहिले स्थानीय सरकारले ती सबै सडक मर्मत गर्दै गएपछि आउजाउमा निकै सहज भएको छ ।”
जगनाथ गाउँपालिका –५ को सिमल खोलाको झण्डै ६० मिटर सडकमा पहिरो जाँदा कर्णाली कोडिडोर अन्तर्गत पर्ने पुरै सडक अवरुद्ध भएको थियो । अहिले गाउँपालिकाले त्यो पहिरोलाई सफाइ गरेपछि सो सडक सञ्चालनमा आएको जगनाथ गाउँपालिका वडा नं –५ का वडा अध्यक्ष गौरी सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिरोले अवरुद्ध बन्दै गएका ग्रामीण सडक मर्मत गरेपछि यतीबेला कर्णाली कोरिडोर अन्गर्तत सुचारु भएका सबै सडकमा गाडी गुड्न थालेको छ ।
ग्रामीण सडकले स्थानीयलाई आउजाउमा निकै सहज भएको थियो । साउन पहिलो सातादेखि बाजुरामा लगातार परेको अविरल वर्षाका कारण सडकमा पहिरो गएपछि ती सडक अवरुद्ध भएका हुन् । गाउँपालिकाले अवरुद्ध बनेका ती सबै सडक एक हप्ताभित्रै नै मर्मत कार्य सम्पन्न गरेपछि अहिले ती सबै सडक पुनः सञ्चालनमा आएको जगनाथ गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताउनुभयो । उहाँले हिउँदमा सुचारु हुँदै आएका जगनाथ गाउँपालिकाका सबै ठाउँका ग्रामीण सडक बर्खाको समय पनि निरन्तरता दिने गरी यतीबेला अवरुद्ध सडकलाई मर्मत गर्दै आएको बताउनुभयो ।