• १५ असार २०८१, शनिबार

प्रतिनिधि सभा असभ्य रुपमा सञ्चालन हुन थाल्योः सांसद गौतम

blog

राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा बोल्नुहुँदै राष्ट्रिय सभा सांसद बामदेव गौतम

काठमाडौं, साउन १२ गते । राष्ट्रिय सभा सांसद वामदेव गौतमले प्रतिनिधि सभाभित्र असभ्यता, अपसंस्कार र संस्कृतिहीन रुपमा सञ्चालन हुन थालेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा बोल्नुहुँदै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालको संसद् पहिलादेखि विवादित र नराम्रो किसिमले चल्ने गरेको भए पनि अहिले संसारका कुनै पनि संसदमा नहुने र इतिहासमा कहिल्यै नभएका संस्कृतिहीन गतिविधि भइरहेको जानकारी दिनुभयो । उहाँले सांसदहरु संसद्को नियमावलीलाई बेवास्ता गरी जथाभावी रुपमा उठेर बोल्ने गरेको बताउनुभयो । उहाँले एक जनाले मात्रै बोल्नुपर्ने ठाउँमा २७५ जना उठेर बोल्ने गरिएको टिप्पणी गर्नुभयो ।

‘‘नेपालको संसद् पहिलादेखि विवादित र नराम्रो किसिमले चल्न थालेको हो । अहिलेको प्रतिनिधि सभामा जे देखिएको छ । त्यो इतिहासमा कहिल्यै नभएका संसारका कुनै पनि संसदमा त्यस्तो हुँदैन । परिस्थिति अत्यन्त जटिल भएको अवस्थामा देखिने गालीगलौज र अपमान गर्ने अरुलाई होच्याउनेदेखि लिएर संसद्को नियमावलीलाई बेवास्ता गरेर जतिबेला पनि उठेको छ ।,’’ सांसद गौतमले भन्नुभयो, ‘‘एक जनाले मात्रै बोल्नुपर्ने ठाउँमा २७५ जना उठेर बोल्ने गरिएको छ । कहिले ५० जना कहिले १०० जना र एकातिर एउटा अर्कोतर्फ अर्को सांसद उफ्रिएको छ । संसदभित्र असभ्यता अपसंस्कार र संस्कृतिहीन भएको छ । हामीले पुरानो संसद् परित्याग गरेर नयाँ संसद् बनाएका छौं ।’’

सांसद गौतमले पुरानो संसद् परित्याग गरेर समानुपातिक समावेशी प्रणालीमा आबद्ध गराएर नयाँ संसद् बनाएको भन्दै पहिलको भन्दा खराब रुपमा तल झरेर संस्कृतिहीन भएको बताउनुभयो । उहाँले पछिल्लो समय प्रतिनिधि सभा मात्रै नभएर राष्ट्रिय सभा पनि त्यस्तै हुन थालेको औंल्याउनुभयो ।

‘‘यसलाई समानुपातिक समावेशी प्रणालीमा आबद्ध गराएको हुनाले यो संसद पहिलो होइन । भन्ने गरेका छौं । पहिलेको भन्दा खराब रुपमा तल झरेर संस्कृतिहीन भइसक्यो । सुशासनभित्र यो कुरा पर्छ कि पर्दैन । अहिले राष्ट्रिय सभा पनि त्यस्तै हुन्छ ।,’’ सांसद गौतमले भन्नुभयो, ‘‘कुनै पनि पार्टीले सांसदहरुलाई लगाएर संसदको गतिविधि अवरोध गर्न पाइँदैन । संसद् अवरोध गर्ने विषय नियमावलीमा छैन । सांसदहरुले आफ्नो विचार व्यक्त गर्ने हो । पार्टीहरुले कार्यव्यवस्था समितिमा मिलाउनुपर्छ । उद्देश्य मुलुक ढङ्गले संसद् चल्न नदिने किसिमको भएको छ । यसलाई पनि सदाचारमा ल्याउन सक्नुपर्छ ।’’

उहाँले कुनै पनि पार्टीले सांसदहरुलाई लगाएर संसदको गतिविधि अवरोध गर्न नपाउने भन्दै संसद अवरोध गर्ने विषय नियमावलीमा समेत नभएको बताउनुभयो । उहाँले सांसदहरुले संसद आफ्नो विचार व्यक्त गर्ने मात्रै भएको भन्दै अन्य राजनीतिक मुद्दामा पार्टीहरुले कार्यव्यवस्था समितिमा मिलाउनुपर्ने धारणा राख्नुभयो । सांसद गौतमले उद्देश्यमूलक ढङ्गले संसद् चल्न नदिने किसिमले संसद अवरुद्ध गराउने काम भइरहेको बताउनुभयो ।