• ५ वैशाख २०८१, बुधबार

गोरखापत्रकर्मी खानसहित चारजना सम्मानित

blog

मोहर्रमको अवसरमा सम्मानित हुनुभएका बाँकेका तीन जना पत्रकार । तस्बिर : गोरखापत्र

सिराज खान
नेपालगञ्ज, साउन १२ गते ।
गोरखापत्र दैनिकका नेपालगञ्ज समाचारदाता सिराज खानसहित बाँकेका तीन जना पत्रकार र एकजना प्रहरी अधिकृतलाई सम्मानित गरिएको छ ।

नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिले चलिरहेको मोहर्रम पर्वका अवसरमा बाँकेका तीन जना क्रियाशील पत्रकार र एकजना सुरक्षा अधिकारीलाई बिहीबार मध्यरातमा सम्मान गरेको हो ।

इस्लामिक नयाँ वर्ष १४४५ हिजरीको शुभारम्भदेखि नै मनाइने मोहर्रम पर्वको ८ औँ दिनको अवसरमा बिहीबार राति १२ बजे वडा नम्बर ४ फुलटेक्रा रोडमा आयोजित कार्यक्रमममा गोरखापत्र दैनिकका नेपालगञ्ज समाचारदाता सिराज खान, मुस्लिम जर्नालिष्ट क्लबका अध्यक्ष एवम् युथ टुडेका सम्पादक आलम खान, रुबरु एफएमका स्टेशन प्रमुख सकिल अहमद कादरी र वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक इन्द्रजीत सुनवारलाई सम्मान गरिएको संरक्षण समितिका महासचिव मोहम्मद हारुनले बताउनुभयो ।

उहाँले तीनै जना पत्रकारले धार्मिक सद्भाव र भाइचारा कायम गर्न पत्रकारिताको माध्यमबाट खेलेको भूमिकाको कदर गर्दै सो सम्मान गरिएको बताउनुभयो । वडा प्रहरी कार्यालयका प्रमुख सुनारलाई शान्ति सुरक्षा कायम गर्न उल्लेखनीय भूमिका खेलेकोमा सम्मान गरिएको समितिले जनाएको छ ।

नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिका अध्यक्ष मेराज अहमद हलवाईका अनुसार इस्लामिक नयाँ वर्ष १४४५ हिजरीको सुरुआतसँगै विभिन्न कार्यक्रमका साथ मोहरर्रम पर्व १० दिनसम्म मनाइने गरिन्छ ।

अध्यक्ष हलवाईले शान्तिपूर्ण र व्यवस्थित तरिकाले मोहर्रम पर्व मनाउन सबैसँग सो अवसरमा आग्रह गर्नुभयो ।

सम्मान कार्यक्रममा संविधान सभासदस्य अब्दुल हमिद सिद्धिकी, लुम्बिनी प्रदेशका पूर्व प्रदेशसभा सदस्य याकुब अन्सारी, धार्मिक गुरु मौलाना मन्सुर आरफी, मौलाना जमाल, वडा नम्बर ५ का वडा अध्यक्ष सराफत खान, वडा नम्बर ४ का पूर्व वडा अध्यक्ष मोहम्मद सफिक बेहना लगायतको सहभागिता थियो ।

मोहर्रमको नवौं दिन शुक्रबार बेलुका आआफ्ना घर अगाडि झिलिमिली पारेर ताजिया राखिनेछ भने अन्तिम दिन शनिबार स्थानीय करबालामा बाजागाजा र जुलुससहित गएर ताजिया सेलाइनेछ ।