• १२ मंसिर २०८१, बुधबार

आँखा पाक्ने राेगकाे समस्या बढ्दो

blog

पवेरा स्वास्थ्य चौकीमा बिरामीको आँखा जाँच गरिँदै ।

अविनाश चौधरी

धनगढी, साउन १२ गते । कैलालीमा बालबालिकादेखि अन्य उमेर समूहका व्यक्तिहरुमा आँखा पाक्ने समस्या बढ्दै गएको छ । विद्यालय अध्ययनरत विद्यार्थी आँखा पाक्ने रोगबाट बढी ग्रसित भइरहेका छन् । 

उनीहरुमा एकबाट अर्कोमा आँखा पाक्ने रोग सर्दै विकराल रुप लिइरहेको धनगढी उपमहानगरपालिका–९ का भूपेन्द्र चौधरीले बताउनुभयो । विद्यालयमा विद्यार्थी आँखा पाक्ने रोगबाट बढी नै ग्रसित हुन थालेपछि आफ्नो बच्चालाई विद्यालय पठाउन पनि डर लाग्न थालेको उहाँको भनाइ छ ।

“हुँदाहुँदै घरछिमेकमा पनि यस्तो समस्या देखापरिरहेको छ”, उहाँले भन्नुभयो,“बालबच्चालाई यो रोगबाट कसरी जोगाउने होला ?”

मौसमका कारण भाइरल इन्फेक्सनको रुपमा आँखा पाक्ने समस्या धेरैमा देखापरिरहेको स्वास्थ्यकर्मीहरुको भनाइ छ । धेरै समय चर्को गर्मीपछि पानी पर्दा यस्तो समस्या बालबालिकादेखि वृद्धवृद्धामा पनि देखापरिरहेको स्वास्थ्यकर्मीहरु बताउनुहुन्छ । आँखा पाक्ने रोगको सङ्क्रमण बढेपछि उपचार गराउनका लागि स्वास्थ्य संस्थामा पुग्ने पनि बढिरहेका छन् । 

सहरी क्षेत्रमामात्रै नभ गाउँघरमा पनि यस्तो समस्या बढेको पवेरा स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक कुसुम चौधरीले बताउनुभयो । आँखाको समस्या भएका १०-११ जना सेवाग्राही दैनिक उपचारका लागि पुग्ने गरेको उहाँले उल्लेख गर्नुभयो । 

आँखा पाक्ने समस्या भएका बिरामीमा आँखा दुख्ने, आँखा रातो हुने, कचेरा आउने, आँखा टाँसिएको हुने, उज्यालोमा आँखा बिझाउने जस्ता समस्या देखिने गरेको जनाइएको छ । भाइरल कन्जङटिभिटिज भाइरसको कारण आँखा पाक्ने गरेको स्वास्थ्यकर्मीहरुको भनाइ छ । 

भाइरलको रुपमा यो रोग विभिन्न माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गरेको वरिष्ठ फिजिसियन प्रोफेसर डा. शुभेषराज कायस्थले बताउनुभयो । उहाँले सङ्क्रमित व्यक्तिको संसर्गमा आएकालाई यो रोग छिटै सर्ने गरेको उल्लेख गर्नुभयो । “सङ्क्रमितले हातको सरसफाई नगरी जथाभावी यत्रतत्र छुने, आँखाबाट निस्केका फोहोर जथाभावी पुछ्ने कार्य गर्नाले यो रोग अरुमा सर्छ”, कायस्थले भन्नुभयो । 

आँखा पाक्ने समस्याबाट छुट्कारा पाउनका लागि दुई दुई घण्टामा चिसो पानीले आँखा धुने र औषधि हाल्नु पर्ने स्वास्थ्यकर्मीहरुको सल्लाह छ । यसैगरी, सकेसम्म चश्माको प्रयोग गर्ने बताइएको छ । आँखा पाक्ने रोगबाट जोगिनका लागि बिरामीले प्रयोग गरेका सामान अरुले प्रयोग गर्न नहुने जनस्वास्थ्य निरीक्षक चौधरीले बताउनुभयो । 

एक हप्तामा आँखा पाक्ने रोग निको हुने गरेको उहाँले उल्लेख गर्नुभयो ।