• १५ कात्तिक २०८१, बिहिबार

युवा पुस्तामा लागु औषध दुर्व्यसन बढ्दाे

blog

होमराज रानाभाट

कावासोती, साउन १२ गते । नवलपुरमा लागु औषधको कुलतमा बढी मात्रामा युवाहरु फस्ने गरेका छन् । लागुऔषधको कुलतमा फसेकामध्ये ९५ प्रतिशत युवा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख प्रहरी उपरीक्षक चुवनेश्वर तिवारीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले पछिल्लो एक आर्थिक वर्षमा चार सय ३० जना लागुऔषध दुर्व्यसनीहरुलाई पक्राउ गरी मुद्दा चलाएको छ । ती सबै १६ देखि २८ वर्ष उमेर समूहको रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । कुलतमा फसेका दुर्व्यसनीहरुले ब्राउन सुगर, स्पासमो, फेन्सी डिल, टिडिजिसी लगायतका लागुऔषधहरु प्रयोग गर्ने गरेको प्रहरीले दिएको तथ्याङ्कबाट पुष्टि भएको छ । 

ब्राउन सुगर बाहेक स्पासमो, फेन्सी डिल, टिडिजिसी भारतमा निर्बाध रुपमा विक्री वितरण हुने भएकोले पनि यो भारतको बाटो भएर नेपाल भित्रिने गरेको प्रहरी उपरीक्षक तिवारीले बताउनुभयो। स्पासमो, फेन्सी डिल र टिडिजिसी नेपालमा डाक्टरले सिफारिस गरेको बिरामीले मात्र खान पाउने र अन्यको हकमा प्रतिबन्धित औषधि हो । यसलाई अहिले युवा पुस्ताले आगुऔषधको रुपमा प्रयोग गर्ने गरेका छन् । 

देवचुली, अरुणखोला, गैँडाकोट र कावासोती, चोरमारा, दुुम्कीबास लगायतका क्षेत्रमा समातिएका केही युवा नारायणी नदी किनार र गैँडाकोट र कावासोती, चोरमारा, अरुणखोलाका जङ्गलमा बसेर आगुऔषध प्रयोग गरिरहेको अवस्थामा धेरै युवा पक्राउ पर्नै गरेका छन् । कावासोतीमा पक्राउ गरेका युवाहरु कोही मन्दिर, जङ्गल र सडकको कल्भर्डमा त कोही भारतबाट लागु पदार्थ मोटरसाइकल, बस लगायतका साधनहरुमा ल्याउँदै गर्दा पक्राउ परेका हुन् । 

नेपाल भारत खुल्ला सिमाना रहेको कारण नेपालमा भित्रिने अधिकांश लागुऔषध भारतबाट नेपाल भित्रिने गर्दछ । यसको लागि नेपालकै मुख्य नाका त्रिवेणी, महेशपुर, बर्दघाटदेखि सुनवल सम्मको इलाका बन्ने गरेको छ । 

प्रहरीले अहिलेसम्म पक्राउ गरेका युवाहरुले बर्दघाट वा सुनवल क्षेत्रबाट लागुऔषध किनेर ल्याएको पाइएको छ । नेपाल भित्रिने लागुऔषध भारतबाट खुला सिमानाका कारण नेपाल भित्रिने र ती लागुऔषध बर्दघाट, सुनवल लगायतका क्षेत्रलाई मुख्य नाका बनाएर बुटवल, नारायणगढ, पोखरासम्म ओसारपोसार हुने गरेको प्रहरीको भनाइ छ । 

नवलपरासी पूर्वमा मात्रै एक वर्षमा चार सयदेखि पाँचसम्म बढी युवाहरु लागुऔषध मुद्धामा पक्राउ परेका छन् । पक्राउ परेका युवाहरुले भारतबाट लागुऔषध भित्र्याएको र गाँउघरमै बेच्ने गरेको बयानमा उल्लेख गर्ने गरेका प्रहरीले जानकारी दिएको छ । 

नवलपरासी पूर्वमा १६ देखि २८ वर्षका युवाहरु लागु औषधको कुलतमा परेको एक अध्ययनले देखाएको छ ।