• १३ असोज २०८१, आइतबार

रेसमकिरा खेतीमा आकर्षण

blog

गुणबहादुर रोका 

सुलीकोट, साउन १२ गते । गोरखाको सहिद लखन गाउँपालिकाका किसान रेसमकिराको खेतीमा आकर्षित हुँदै गएका छन्।  गाउँपालिकामा पहिलो पटक व्यावसायिक रूपमा रेसमकिराको खेती गरिएको छ।

गाउँपालिकाका कृषि शाखा प्रमुख ऋषि रोकाले गाउँपालिकाको घैरुडस्थित ज्यामिरे स्वाँरामा किसानले मनकामना रेसम खेती समूह निर्माण गरी रेसमकिराको खेती गरेको जानकारी दिनुभयो। 

गण्डकी प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय कृषक मिलेर समूहमार्फत रेसमकिराको खेती सुरु गरेको उहाँले बताउनुभयो। पालिकाले समूहलाई रेसमकिराको खेती गर्न सहयोग पु-याउने उद्देश्यले फलामका -याक निर्माण र जग्गा भाडामा आर्थिक सहयोग गर्दै आएको छ। समूहलाई त्यसबाहेकको सहयोग प्रदेश सरकारले गर्दै आएको शाखा प्रमुख रोकाले बताउनुभयो। 

पहिलो पटक उत्पादन सुरु गर्दा १० किलो मात्र कोकुन उत्पादन भएको र यस पटक ६० केजी उत्पादन हुने अनुमान गरिएको छ। धागो निकालेर बिक्री गर्दा झन् बढी फाइदा हुने भए पनि प्रशोधनको काम भने सुरु भइनसकेकाले अहिले कोकुन नै बिक्री गर्दै आएको शाखा प्रमुख रोकाले बताउनुभयो। यसको धागो उत्पादन गरेर बिक्री गर्न सके एक केजीको पाँच हजार रुपियाँसम्ममा बिक्री हुने उहाँको भनाइ छ। 

मनकामना रेसम खेती कृषि समूहकी सदस्य रिना थापामगरले अहिले उक्त समूहले ६० हजार रेसमकिरा हालेको बताउनुभयो। उहाँले भन्नुभयो, “किराले २८ दिनदेखि नै कोकुन हाल्न सुरु गर्छ। लगभग ४० दिनभित्र आम्दानी आइसक्ने अवस्थामा पुग्छ।” किरा राख्नुअघि घाँसको बगैँचा तयार गर्न सके महिनैपिच्छे उत्पादन दिन सकिने उहाँको भनाइ छ। 

रेसमकिरा पाल्न फार्मलगायतका संरचना निर्माण गरेर किम्बु घाँसको खेतीका लागि धेरै जग्गा आवश्याक पर्ने हुँदा समूहले करिब एक सय रोपनी जमिन भाडामा लिएर घाँस खेती गर्दै आएको छ। 

थापाले भन्नुभयो, “जति छिटो बिक्री हुन्छ, हामीलाई त्यति नै फाइदा हुन्छ।” समयमा बिक्री नभए कोकुन धेरै पटक सुकाउँदा यसको तौल घट्ने गरेको थापाले बताउनुभयो।