• ८ जेठ २०८१, मङ्गलबार

पहिरोले मेची राजमार्ग अवरुद्ध

blog

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, साउन १२ गते । फुङ्लिङ नगरपालिका–८, दोखुस्थित खोक्सेखोला नजिक वैशाखे भिरमा खसेको सुक्खा पहिरोले मेची राजमार्ग अवरुद्ध बनेको छ। ठुलाठुला चट्टानसहित खसेको पहिरोले मेची राजमार्गको ताप्लेजुङ–पाँचथर सडकखण्ड अवरुद्ध बनेको हो।

बिहीबार बिहान २ बजेतिर सुक्खा पहिरो खसेको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले जानकारी दिनुभयो। उहाँका अनुसार करिब ३० मिटर दुरीभित्र पूरै सडक ढाक्ने गरी खसेको पहिरोले राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनाएको हो। सडकमाथिबाट खसेको सुक्खा पहिरो हटाउने कार्य बिहानैदेखि सुरु गरिएको थियो। 

ताप्लेजुङ क्षेत्रमै रहेको सडक डिभिजन कार्यालयको मेसिन (ब्याकहो लोडर) र फुङ्लिङ नगरपालिकाको जेसिबी प्रयोग गरेर पहिरो हटाउने कार्य सुरु गरिएको उहाँले बताउनुभयो। पहिरो पन्छाउनका लागि पाँचथरको फिदिममा रहेको सडक डिभिजनकै अर्को मेसिन (उपकरण) पनि झिकाएर दिउँसो १ बजेपछिबाट प्रयोगमा ल्याइएको उहाँले जानकारी दिनुभयो।

“हाल तीन वटा उपकरण प्रयोग गरेर पहिरो हटाउने कार्य भइरहेको छ, सडक खुलाउनकै लागि अनवरत प्रयास जारी छ,” उप्रेतीले भन्नुभयो। अवरुद्ध सडक खुलाउन बिहानैदेखि पहिरो पन्छाउने कार्य भइरहे पनि निकै समय लाग्ने बताइएको छ। 

यता राजमार्ग अवरुद्ध हुँदा सदरमुकाम फुङ्लिङदेखि छुट्ने लामो तथा छोटो दुरीका सबै सवारी साधन रोकिएका थिए। जिल्लाकै पूर्वी क्षेत्र सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकाका लागि यातायात सेवा प्रवाह गर्दै आएका यात्रुबाहक सवारीसाधन रोकिएका छन् भने पाँचथर हुँदै इलाम, झापा, मोरङ, सुनसरी चल्ने लामो दुरीका सवारीसाधन जान पाएका छैनन्। ताप्लेजुङका लागि छुटेका यात्रु तथा मालवाहक साधन पनि भित्रिन पाएका छैनन्।