• ११ मंसिर २०८१, मङ्गलबार

अत्याधुनिक चलचित्र भवन सञ्चालनमा

blog

विहीबारबाट सञ्चालनमा आएको अत्याधुनिक सिनेमा हल सिने रोयल । तस्विर : सिराज खान

सिराज खान

नेपालगन्ज, साउन ११ गते । नेपालकै पहिलो ‘थ्री वे डल्बी एटमस साउण्ड सिस्टम’ र ‘फोर के लेजर प्रोजेक्टर’ प्रोजेक्सनमा आधारित ३ वटा स्क्रिनसहितको मल्टिप्लेक्स सिनेमा हल नेपालगन्जमा सञ्चालनमा आएको छ । 

बिहीबारबाट सञ्चालनमा आएको ‘सिने रोयल’ नामक सो चलचित्र भवनमा रहेका तीन वटै अडिटारियम अमेरिकाबाट आयात गरिएका हुन् । बेल्जियमबाट प्रोजेक्टर आयात गरिएको र हङकङबाट आयात गरिएका थ्रिडी प्रणाली त्यसमा जडान गरिएको छ ।  

चलचित्र भवनका सञ्चालक डा. राहुल थापाले उद्घाटनको अवसरमा हलबारे जानकारी दिँदै नेपालमै पहिलो पटक विभिन्न विदेशी मुलुकबाट ल्याइएका प्रविधिको प्रयोग गरिएको बताउनुभयो । 

नेपालमै पहिलो पटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङ सिस्टममार्फत दर्शकका लागि रिक्लाइनर, लाउन्जर र स्लाइडर सिटहरू जडान गरिएको उहाँले बताउनुभयो ।  सञ्चालक डा. थापाका अनुसार तत्काल हलसँगै क्याफेटेरिया पनि सुरु गरिने छ । बिस्तारै विभिन्न सपिङ आउटलेटसँगै एउटा डिपार्टमेन्टल स्टोर पनि खोल्ने योजना रहेको बताउनुभयो । 

करिब २५ करोडको लागतमा निर्माण गरिएको सो चलचित्र भवनका सबै हलहरू पूर्णरुपमा फायर प्रुफ रहेकाले सुरक्षामा पनि अति नै बलियो प्रणाली अपनाइएको उहाँको भनाइ छ ।  

सञ्चालक डा. थापाका अनुसार दुई वटा हल २५० दर्शक क्षमताको र एउटा हल १५० दर्शक क्षमताको गरेर ५६० जना दर्शक अट्ने क्षमता रहेको छ । उहाँले अत्याधुनिक प्रविधि, आलिशान सिटिङ, इमर्सिभ साउण्ड र भव्य वातावरणका कारण सिने रोयलले नेपालमै सिनेमा थिएटरका लागि अभूतपूर्व बेन्चमार्क स्थापित गरेको बताउनुभयो । 

सो अवसरमा सङ्घीय सांसद धवल शमशेर राणा, खजुरा गाउँपालिकाका पूर्व अध्यक्ष किस्मतकुमार कक्षपति, चलचित्र भवन निर्माणका टिम लिडर किरण ढकाल, व्यवसायी टङ्क धामीलगायतले नेपालगन्जका लागि गौरवको आयोजना रहेको यो चलचित्र भवनले नेपाल र भारतका दर्शकलाई आकर्षित गर्ने बताउनुभयो ।