फडिन्द्र अधिकारी
लेखनाथ, साउन ११ गते। गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली बिहीबार पोखराको यातायात कार्यालय पुग्नुभयो। यातायात व्यवस्था कार्यालय कास्कीको सवारी चालक अनुमतिपत्र र सवारी साधन दर्ता तथा नवीकरणसम्बन्धी सेवा दिने कार्यालयमा मन्त्री जुग्जाली सेवाग्राही बनेर अनुगमनमा जानु भएको हो।
सेवाग्राहीसँगै लाइनमा बसेर उहाँले गुनासा र सुझाव सुन्नुभएको छ। सवारी चालक अनुमतिपत्रका लागि ट्रायल परीक्षा सञ्चालन गरिने सेन्टर पनि उहाँले अनुगमन गर्नुभएको छ। यसअघि गत जेठ महिनामा पनि मन्त्री जुग्जालीले यातायात कार्यालयको अनुगमन गरी सुधारका लागि कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको थियो।
सवारी साधन दर्ता तथा नवीकरणसम्बन्धी कार्यालयमा पहिलेको तुलनामा सेवाग्राहीले कम समय लाइन बस्नुपरेको र छिटो सेवा पाएको प्रतिक्रिया दिएका छन्। अहिले ट्रायल परीक्षा बिहान ८ बजेदेखि नै सञ्चालन गर्न थालिएको छ। सवारी चालक अनुमतिपत्रको नवीकरणका लागि अनलाइनबाटै शुल्क तिर्ने व्यवस्था मिलाइएको छ।
मन्त्री जुग्जालीले यसअघि दिएको निर्देशन कार्यान्वयन भए/नभएको, सेवाग्राही र कार्यालयको समस्या पहिचानका लागि अनुगमन गरेको जानकारी दिनुभयो। यातायात कार्यालयका प्रमुख डिल्लीराम रिजाल र जितेन्द्र केसीले सेवाग्राहीलाई बाह्य व्यक्तिको सहयोग बिनै छिटो, छरितो र सहज रुपमा सेवा उपलब्ध गराउने प्रयास गरेको जानकारी दिनुभएको छ। दरबन्दी अनुसारका कर्मचारी नहुँदा समस्या भएका कार्यालय प्रमुखको भनाइ छ।
यातायात कार्यालयमा चाँडै थप जनशक्ति व्यवस्थापन र पोखराको ट्रायल सेन्टरमा सेवाग्राहीको चाप घटाउन बागलुङमा चार पाङ्ग्रे सवारीको ट्रायल परीक्षा सञ्चालन गर्ने तयारी भएको मन्त्री जुग्जालीले उल्लेख गर्नुभयो।