• ९ जेठ २०८१, बुधबार

हिसेडोमाको निधनले गाउँ शोकमय

blog

उपचारको क्रममा निधन हुनुभएकी हिसेडोमा शेर्पा । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन ११ गते । सवारी दुर्घटनामा परी घाइते हुनुभएकी ताप्लेजुङ पापुङकी हिसेडोमा शेर्पाको निधनले गाउँ शोकमग्न बनेको छ । झापाको बीएनसी अस्पतालमा उपचारका क्रममा २६ वर्षीया शेर्पाको बिहीबार बिहान मृत्यु भएपछि मिक्वाखोला गाउँपालिका –५ पापुङको सिम्बुक गाउँ शोकमग्न बनेको हो । 

गएको मङ्गलबार मेची राजमार्गको इलाम–पाँचथर सडकखण्ड अन्तर्गत फिदिम नगरपालिका –२ साम्दिनमा मे १ ज १९४१ नम्बरको जिप दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा परी गम्भीर घाइते हुनुभएकी शेर्पालाई सोही दिन उपचारका लागि बीएनसी लगिएको थियो । 

अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा शेर्पाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको पापुङका स्थानीय सागर शेर्पाले बताउनुभयो । हाल काठमाडौं होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएकी शेर्पा आफ्नो गाउँ पापुङ फर्कने क्रममा जिप दुर्घटनामा पर्नुभएको थियो ।

उहाँको उपचारको क्रममा मृत्यु भएको थियो । शेर्पाको शव कानुनी प्रक्रिया पूरा गरेर आफ्नै गाउँ पापुङको सिम्बुक ल्याएर अन्त्येष्टि (दाहसंस्कार) गरिने पापुङका वडाध्यक्ष ग्यान्जे शेर्पाले बताउनुभयो ।

यसअघि सो दुर्घटनामा परी ताप्लेजुङकै मैवाखोला गाउँपालिका –१ ढुङ्गेसाँघुका ४२ वर्षीय जितेन्द्रमणिविक्रम वनेमको सोही दिन निधन भएको छ । चालकसहित १४ जना यात्रु सवार उक्त जिप झापाको बिर्तामोडदेखि ताप्लेजुङतर्फ आउने क्रममा ब्रेक फेल भई दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।