• ९ जेठ २०८१, बुधबार

घरमा खानेपानीको धारा पुगेपछि स्थानीय हर्षित

blog

घरमै खानेपानीको धारा । तस्बिर : शेरबहादुर राई

शेरबहादुर राई

ओखलढुङ्गा, साउन ११ गते । सिद्धिचरण नगरपालिका–१ तलुवाको सुख्खा क्षेत्र बारचाँदेमा खानेपानीको सुविधा पुगेको छ । वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँका स्थानीयमा खुसीयाली छाएको छ । 

बारचाँदेका प्रत्येक स्थानीयको घरमा खानेपानीको सुविधा पुगेपछि हर्षित भएका हुन् । सिद्धिचरण नगरपालिका, वडा कार्यालय, साहस नेपाल र स्वयंसेवी अभियान नेपालको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा खानेपानी आयोजना सम्पन्न भएसँगै गाउँमा खानेपानी सुविधा आएको वडा अध्यक्ष तीर्थ घिमिरेले बताउनुभयो । 

१२ लाख ६३ हजार ७६१ रुपियाँको लागतमा खानेपानी आयोजना सम्पन्न भएको वडा अध्यक्ष घिमिरेको भनाइ छ । ३० हजार लिटरको पानीट्याङ्की निर्माण गरेर ४३ घरधुरीमा खानेपानी वितरण गरिएको छ । सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेतलगायतले खानेपानी आयोजनाको उद्घाटन गर्नुभयो ।