• ८ जेठ २०८१, मङ्गलबार

‘लम्पी स्किन’ ले रोपाइँ प्रभावित

blog

खोटाङ समाचारदाता 

खोटाङ, साउन ११ गते । महामारीका रूपमा फैलिएको ‘लम्पी स्किन’ रोगले खोटाङमा रोपाइँ प्रभावित भएको छ । ‘लम्पी स्किन’ रोगले जोत्ने गोरु मरेपछि धान हरियो हुनुपर्ने समयमा किसानको खेत बाँझै छ ।  

गत वर्षको साउन २ गतेसम्म ७० प्रतिशत रोपाइँ सकिएको थियो । यो वर्ष गोरुमा ‘लम्पी स्किन’ रोग फैलिएपछि साउन पहिलो हप्ता बितिसक्दा ५० प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । खेत जोत्ने यान्त्रीकरण सबै किसानको पहुँचमा नहुँदा खेत रोपाइँ प्रभावित भएको हो । रोगको महामारीसँगै समयमा वर्षा नहुनु पनि रोपाइँ ढिला हुनुको एउटा कारण बनेको कृषि ज्ञान केन्द्र खोटाङका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताउनुभयो । 

कुल १२ हजार ८९८ हेक्टर खेतमा धान खेती हुँदै आएको खोटाङमा हालसम्म छ हजार ४४९ हेक्टर खेतमा मात्र रोपाइँ सम्पन्न भएको छ । जसले गर्दा यस वर्ष धान उत्पादनमा गिरावट आउने संभावना देखिएको बताइएको छ । दस स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी दिप्रुङ चुइचुम्मा गाउँपालिका र सबैभन्दा कम रावा बँेसी गाउँपालिकामा रोपाइँ भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ७५ प्रतिशत र रावा बँेसी गाउँपालिकामा २५ प्रतिशत खेतमा मात्र रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र 

खोटाङले जनाएको छ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ६० प्रतिशत, खोटेहाङ गाउँपालिकामा ६०, साकेला गाउँपालिकामा ५५, हलेसी तुवाचुङ नगरपालिकामा ५०, जन्तेढुङ्गा गाउँपालिकामा ५०, केपिलासगढी गाउँपालिकामा ४५, वराहपोखरी गाउँपालिकामा ४० प्रतिशत र ऐसेँलुखर्क गाउँपालिकामा ४० प्रतिशत रोपाइँ सकिएको जनाइएको छ । 

मानो रोपेर मुरी उब्जाउने समयमा गोरु नै मरेपछि किसान चिन्तित बनेका छन् । रोग लागेर हल गोरु नै मर्दा पनि तीनै तहका सरकार मौन बसेको किसानहरूको गुनासो छ । अधिकांश गोरु मरेपछि बचेका गोरु आलोपालो जोत्दै किसान अहिले रोपाइँमा व्यस्त छन् । ‘लम्पी स्किन’ रोगबाट खोटाङमा हालसम्म तीन सयभन्दा बढी गाई-गोरु मरिसकेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरको सम्पर्क केन्द्र खोटाङ दिक्तेलले जनाएको छ ।