• १३ मंसिर २०८१, बिहिबार

डोजरले तार्दै गाडी

blog

हुम्ला समाचारदाता

हुम्ला, साउन ११ गते । कर्णाली कोरिडोरको पिलु खोलामा डोजरले गाडी तार्दै आएको छ । बाजुराको बुढीनन्दा नगरपालिकाको पिलु खोलामा बाढी आएको बेला डोजरको सहारामा गाडी तारिँदै आएको छ ।

ताँजाकोट गाउँपालिका–३ निवासी तिलक शाहीले बाजुराको पिलु खोलामा पानी बढेपछि गाडी फस्ने र यसरी फसेका गाडीलाई डोजर तथा जेसिभीले तान्नुपर्ने अवस्था रहेको बताउनुभयो । खोला बढेका कारण बाजुरा र हुम्ला आउने मालवाहक गाडी तथा हुम्ला र बाजुराबाट नेपालगन्ज र सुर्खेत जाने खाली गाडीलाई खोला तार्न डोजरको सहारा लिनु पर्दछ । उक्त खोलामा पुल निर्माणका लागि चार वर्षदेखि माग गरिएको भए पनि कर्णाली कोरिडोरको सो खण्ड हेर्ने आयोजनाले कुनै सुनुवाइ नगरेको आरोप यातायात व्यवसायीको छ । 

दुई जिल्लामा भित्रिने मालवाहक ५० भन्दा बढी गाडी डोजरले तार्ने गरिएको छ । सो खोला तरेर बाजुराको बुढीनन्दा नगरपालिका र हिमाली गाउँपालिका तथा हुम्ला जिल्लाको ताँजाकोट, अदानचुली गाउँपालिकाका साथै माथिल्लो हुम्लाका पाँच वटा गाउँपालिकाका लागि सलीसल्लासम्म ती मालवाहक गाडी आउने गर्छन् ।