• ३० वैशाख २०८२, मङ्गलबार

सदस्यता वितरणसम्बन्धी निर्णय सच्याउन माग

blog

पत्रकार महासंघ रुपन्देहीलाई ज्ञापनपत्र बुझाउँदै प्रेस युनियन रुपन्देहीका पदाधिकारी ।

कपिल ज्ञवाली

सिद्धार्थनगर, साउन १० गते । नेपाल प्रेस युनियन रुपन्देहीले नेपाल पत्रकार महासंघ रुपन्देहीमा ज्ञापनपत्र बुझाएको छ । महासंघले गरेको सदस्यता वितरणसम्बन्धि निर्णय सच्याउन युनियनले माग गरेको हो । 

पत्रकार महासंघले आफैले बनाएको सदस्यता वितरणसम्बन्धि मापदण्डविपरित हुनेगरी निर्णय गरेको भन्दै विभेदकारी निर्णय सच्याउन माग गरिएको नेपाल प्रेस युनियन रुपन्देहीका सचिव कपिल ज्ञवालीले जानकारी गराउनुभयो ।

नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार नेपाल पत्रकार महासंघ रुपन्देहीमा ज्ञापनपत्र बुझाउँदै सो निर्णय तत्काल सच्याउन माग गरेको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीको साउन ६ र ७ गते बसेको बैठकले ३२ जनालाई नयाँ सदस्यता दिने निर्णय गरेको छ ।

‘महासंघले गरेको निर्णयमा कतिपय मापदण्डभित्र पर्नेलाई पनि सदस्यता दिइएको छैन । कतिपय मापदण्डभन्दा बाहिरका व्यक्तिलाई समेत सदस्यता दिइएको छ । एउटै मिडिया हाउसमा समान पदमा काम गर्नेलाई पनि एउटालाई सदस्यता दिने अर्कालाई नदिने गरिएको छ’ प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले भन्नुभयो, ‘यस्तो विभेदकारी निर्णय नसच्याए प्रेस युनियन आन्दोलनमा उत्रिन बाध्य हुनेछ ।’

प्रेस युनियन रुपन्देहीका अध्यक्ष नेपालले कुनै पनि आस्था र विचारका आधारमा नभई मापदण्डका आधारमा सदस्यता दिइनुपर्ने बताउनुभयो । सदस्यता वितरण गर्ने यो निर्णयले सदस्यता शुद्धिकरणलाई समेत गिज्याएको बताउनुभयो । 

पत्रकार महासंघ केन्द्रीय समिति र लुम्बिनी प्रदेश समितिलाई बोधार्थ दिइएको उक्त ज्ञापनपत्रमा महासंघ रुपन्देहीले गरेको निर्णय विभेदकारी भएकाले सच्याउन माग गरेको छ । अन्यायपूर्ण निर्णयविरुद्ध युनियन जस्तोसुकै कदम चाल्न पनि तयार रहेको चेतावनी दिएको छ । 

ज्ञापन पत्र बुझ्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले महासंघले तयार गरेको मापदण्डमा रहेर सबैको छलफलबाट निर्णय गरिएको बताउनुभयो । संगठनहरुले असमत्ति जनाएकाले फेरि छलफल गरेर एउटा निश्कर्षमा पुग्ने विश्वास दिलाउनुभयो ।