• ११ मंसिर २०८१, मङ्गलबार

गलेश्वर मन्दिरको घट्यो भेटी रकम

blog

मन्दिरमा चढाइएको भेटी गणना गरिँदै । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, साउन १० गते । साउन महिनाको हरेक सोमबार पूजा अर्चना तथा दर्शनका लागि आएका भक्तजनले गलेश्वरधाममा चडाउने भेटी त्यसको भोलिपल्ट गणना गरेर सार्वजनिक गर्ने गरिन्छ । 

यही सिलसिलामा साउन महिनाको पहिलो सोमबार तीन लाख ६५ हजार छ सय ४५ रुपियाँ भेटीबापत रकम सङ्कलन भएकोमो दोस्रो सोमबार भने त्यो अङ्क दुईतिहाइले घटेको छ । गलेश्वरमा साउन महिनाको दोस्रो सोमबार भक्तजनले ९६ हजार एक सय ४१ रुपियाँ भेटी चढाएका छन् ।

भक्तजनले दानपेटीका तथा अन्यत्र चढाएको भेटी गलेश्वर शिवालय क्षेत्र विकास कोषले मङ्गलबार गणना गरेको थियो । मन्दिर क्षेत्रभित्र चढाएको रकम बिहान गणना बैंकमा जम्मा गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

साउन महिनामा यस वर्ष पाँच सोमबार परेको र सबै सोमबारमा हुने भक्तजनले चडाएको रकम गणना गरेर सार्वजनिक गर्ने अध्यक्ष रेग्मीको भनाइ छ । मन्दिरमा राखिएका दानपेटिकामा भक्तजनले चढाएको रकम कोषका पदाधिकारी तथा अन्य सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको रोहबरमा गणना गरिएको क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताउनुभयो ।

गलेश्वर मन्दिरमा गत वर्ष २०७९ को साउन महिनाभरि १७ लाख ६९ हजार छ सय ८८ रुपियाँ भेटीवापत सङ्कलन भएको थियो । यस वर्ष भने साउनको १ गते औंसी तथा पहिलो सोमबार परेको र त्यसपछि अधिकमास सुरु भएकाले दोस्रो सोमबार भक्तजनको सङ्ख्या  घटेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताउनुभयो । गाउँघरमा सुरु भएको धान रोपाइँ र अधिकमास नै भक्तजन घट्नुको मुख्य कारण हो उहाँले बताउनुभयो ।